केशव पाण्डेको डेब्यू निर्देशनमा तयार भएको चलचित्र ‘११ः५५’को टिजर रिलिज भएको छ । कलाकारहरुको क्यारेक्टर पोस्टर सार्वजनिक भएको केही दिनपछि डेढ मिनेट लामो टिजर रिलिज गरिएको हो ।
चैत्रको ८ गतेबाट रिलिजमा आउन लागेको यो चलचित्रको सार्वजनिक टिजरमा लभ, रोमान्स, धोका र बदलाको कथालाई रहस्यमय तरिकाले प्रस्तुत गरिएको देख्न सकिन्छ । चलचित्रको टिजरमा मुख्य कलाकारहरू श्रृष्टी श्रेष्ठ, महेश त्रिपाठी, करिश्मा श्रेष्ठ, एमएस अग्रज, वुद्दि तामाङ, विशाल पहारी र डेब्यू कलाकार सागर खनालको अभिनय छ ।
क्राइम थ्रीलर जनरामा यो चलचित्र निर्माण गरिएको हो । चलचित्रले ‘कसैमाथि पनि विश्वास नगर्न’ सन्देश दिन खोजेको वुझ्न सकिन्छ । चलचित्रमा एमएस अग्रज, शेखर ज्ञवाली र निर्देशक पाण्डेको लेखन छ । अल्मोडा राना उप्रेतीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, देव महर्जनको एक्सन, रामशरण उप्रेतीको छायांकन, पासाङ दावा शेर्पाको सम्पादन छ ।
विचित्र फिल्मस् र गुड जब आर्ट्सको व्यानरमा निर्माण भएको यो चलचित्रमा श्याम शर्मा र सरोजा शर्माको लगानी छ । चलचित्रका कार्यकारी निर्माता एमएस अग्रज हुन् ।





