हिस्टोरिकल ब्लकबस्टर चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ फेम्ड निर्देशक सरोज पौडेलले ‘कोशेढुंगा’ निर्माणको घोषणा गरेसँगै यसको लाइनअपलाई लिएर चर्चा भइरहेको छ ।
निर्देशक पौडेलको यो चलचित्रमा को–को कलाकार छन् भन्ने कुराको कौतुहल चलचित्र वृत्त र चलचित्रका शुवेच्छुकमा कौतुहल छ ।
निर्देशक सरोजका अनुसार चलचित्रका मुख्य कलाकारको लाइनअप पूरा भएको छ । सुरक्षा पन्त र आर्यन सिक्देलसँगै नीति शाह र प्रवीण खतिवडा अनुबन्ध भइसकेका छन् ।
थिम पोस्टरले पनि ‘कोशेढुंगा’मा महिला चरित्रले सिनेमा लिड गर्ने प्रष्ट संकेत गरिसकेको थियो । तर, को हो त्यो भने निर्देशक पौडेल खुलाएका छैनन् ।
‘कोशेढुंगा’ सोसल ड्रामा हो । अभाव, अग्लो सपना र संघर्षको कथा चलचित्रले भन्ने संकेत थिम पोस्टरले गरेको छ । “चलचित्र कस्तो हुने, कथा के हो, कलाकार को–को हुने त्यो हामी केही समयपछि जानकारी गराउनेछौँ,” निर्देशक पौडेलले भने, “तर हामी यति भन्छौँ, पूर्ण बहादुरको सारङ्गी जसरी दर्शकले मन पराउनुभयो त्यसैगरी मन जित्ने चलचित्र बनाउने प्रयासमा छौँ ।”
फागुन २ गतेदेखि छायांकन हुने चलचित्र २०८२ मा रिलिज हुने निर्माण पक्षले जानकारी दिएको छ । नरदेवी फिल्मसको प्रस्तुति रहेको चलचित्रमा प्रेविल कँडेल र हरि महतको लगानी रहनेछ भने दिनेश खड्का कार्यकारी निर्माता रहेका छन् ।
बाबु श्रेष्ठको डीओपी रहने चलचित्र सुरेन्द्र पौडेलले सम्पादन गर्नेछन् । चलचित्रमा संगीत रिदम कँडेल र आषिश अविरलको रहनेछ ।