नेपालगन्ज – यही असार २९ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘बगान’को ट्रेलरको सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलर हेर्दा एकल महिलाको कथामा चलचित्र बनेको देखिन्छ। ट्रेलर सार्वजनिक कार्यक्रममा अभिनेता तथा निर्देशक सरोज खनालले एकल महिलालाई निःशुल्क चलचित्र देखाउने घोषणा गरेका छन् । चलचित्रको कथावस्तु पनि एकल महिलामा आधारित भएकाले उनीहरुको सम्मानका लागि यो निर्णय गरिएको निर्देशक खनालले बताए ।
चलचित्रको ट्रेलर सार्वजनिक कार्यक्रममा समारोहमा उपसभामुख इन्दिरा राना, माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला, कोशी प्रदेशसभाकी सांसद मीना श्रेष्ठ, सञ्चारकर्मी बबिता बस्नेत, अभिनेत्री करिश्मा मानन्धरकी आमा कोमलकुमारी केसी र अभिनेत्री पूजा शर्माकी आमा दुर्गा सापकोटालाई सम्मान गरियो ।
कार्यक्रममा बोल्दै खनालले भने झन्डै २० मिनेट एकल महिलालाई शैक्षिक रुपमा सशक्त बनाउनुपर्छ भन्ने कथावस्तु पनि पेश गगरेको छु । चलचित्रमा मैले आमालाई शिक्षित बनाएको छु । आमा शिक्षित हुँदा छोरी पनि शिक्षित हुन्छिन् । २ घण्टाको चलचित्रमा २० मिनेट त शिक्षाकै बारेमा छ । चलचित्र पूर्ण रुपमा शिक्षाकै बारेमा छ ।
चलचित्रको ट्रेलर सार्वजनिक कार्यक्रममा आफ्नो भूमिकाबारे चर्चा गर्दै अभिनेत्री मानन्धरले समाज परिवर्तनका लागि आफूले ‘बगान’मा यो भूमिकामा काम गरेको बताइन् । ‘समाज परिवर्तनमा सानो भूमिका खेले पनि यसलाई सिनेमाको उपलब्धि मानिनेछ,’ मानन्धरले भनिन्, ‘यसमा आमाको भूमिकालाई नजिकबाट नियाल्ने प्रयास गरेका छौं ।’ चलचित्रको विषयवस्तु अत्यन्त गहन रहेको अभिनेत्री मानन्धरको दाबी छ ।