अभिनेत्री बिपना थापा १६ वर्षपछि पर्दामा पुनरागमन गर्ने भएकी छन् । नीता ढुंगाना र हरिहर अधिकारीले निर्माण गर्ने चलचित्र ‘ह्रस्वदीर्घ’ बाट बिपना पर्दामा ब्याक हुन लागेकी हुन् ।
निर्देशक चन्द्र पन्तले अग्रज अभिनेत्री थापालाई चलचित्रको प्रमुख मध्येको एक पात्रको रुपमा अनुबन्धित गरिएको जानकारी दिएका छन् । ‘उहाँलाई अनुबन्धित गर्न पाउँदा हामीलाई गर्व महसुस भएको छ’ पन्तको भनाई छ । चलचित्रका चार प्रमुख पात्रमध्ये बिपनाको क्यारेक्टर एउटा रहेको जानकारी उनले दिए । बिपना विवाहपछि भारतको कोलकातामा श्रीमानसँग बस्दै आएकी छन् ।
चलचित्रमा यसअघि सरोज खनाल, सलोन बस्नेत, नीता ढुंगाना, हरिहर अधिकारी, प्रदीप रावत, ब्रम्हानन्द लगायतका नेपाली र भारतीय कलाकार तय भैसकेका छन् । माघ देखि छायांकन सुरु हुने चलचित्रलाई तीन चरणमा खिचिने भएको छ ।