अरुण खड्काको निर्माण निर्देशन रहने चलचित्र ‘फटाह फणिन्द्रे’ बन्ने भएको छ । चलचित्रमा अभिनेता कर्मासँग अभिनेत्री छुल्ठिम गुरुङको रोमान्स देख्न सकिन्छ । मंगलबार आफ्नो जन्मदिनको अवसर पारेर निर्माता अरुण खड्काले चलचित्रको मुख्य भूमिकाका लागि कर्मा, छुल्ठिम र रोहित रुम्बालाई अनुबन्धित गरेका हुन् । चलचित्रको मुख्य भूमिकाको लागि यस अगाडि सुस्मा कार्की अनुबन्धित भैसकेकी छन् भने अन्य कलाकार भने छनौटको क्रममा रहेका छन् ।
श्रीराम बालाजी फिल्मस् र अरुण फिल्म प्रोडक्सन प्रालीको संयुक्त ब्यानरमा निर्माण हुन लागेको चलचित्रको प्रस्तुतकर्तामा सुनिल मानन्धर रहेका छन् । विक्रम सिंह गुरुङ निर्माता र नेत्र बिष्ट कार्यकारी निर्माता रहेको चलचित्रमा रोशन श्रेष्ठको द्वन्द, विपिन मल्लको सम्पादन र ईश्वरलाल सिंकेमनको छायाँकन रहनेछ । उत्तम केसीको कथा रहेको चलचित्रमा पट्कथा, संवाद हिमाल उप्रेती ,सुशिल पोखरेल र अरुण खड्काको रहेको छ । यस अगाडि ‘तिम्रो लागि’, ‘पाठशाला’ निर्माण गरेका अरुण यसै चलचित्रबाट निर्देशनमा डेब्यु गर्दै छन् ।
आफूले यो क्षेत्रमा बिताएको एक दशकमा सिकेको र बटुलेको अनुभव चलचित्र ‘फटाह फणिन्द्रे’मा निर्देशक मार्फत देखाउने उनको योजना छ चैत्रको पहिलोसाताबाट छायाँकन सुरु हुने चलचित्रले अपराधको बिषयलाई कमेडीको माध्यमबाट प्रस्तुत गर्ने छ जहाँ निर्माण नियन्त्रक नेत्र विष्ट रहने छन् ।