भ्वाइस अफ नेपालमा जर्जको रुपमा रहेका गायक खेम सेन्चुरीको अहिले ब्यापक आलोचना भइरहेको छ । भ्वाइस अफ नेपालमा उनले खुट्टाले बर्जर थिचेको विषयलाई लिएर सामाजिक सञ्जालमा व्यापक आलोचना हुन थालेपछि धेरै आफ्नो प्रतिक्रिया व्यक्त गरिरहेका छन् ।
यही शिलशिलामा गायक शिव परियारले खेम सेन्चुरीलाई खुट्टाले बर्जर थिच्ने नक्कल अरू कसैबाट सिकेको भन्दै यस्तो नगर्न आग्रह गरेका छन् । उनले आफूलाई छोडेर अरू जस्तो बन्ने प्रयास नगर्न खेम सेन्चुरीलाई सुझाब दिदै स्टाटस लेखेका छन् ।
शिवको स्टाटस यस्तो छ,‘खेम भाइ भिडियो हेर्दा अलिकति अस्वाभाविक चैँ मलाई पनि लाग्यो है । भविष्यमा आफूलाई छोडेर अरू कोही जस्तो बन्ने चेष्टा नगर्नु’, परियाले सामाजिक सञ्जाल मार्फत भनेका छन् ‘मौलिक खेम सेन्चुरी नै नेपाली लोकसंगीतलाई प्रिय अनि आवश्यक छ । आफूलाई छोडेर अरुजस्तो बन्ने प्रयास गर्दा प्रायः नकारात्मक अवस्थाहरु भोग्नुपर्ने हुन्छ । भाइ जत्तिको कलाकारले आगामी दिनमा बिचार गर्नुपर्छ ।’
गायक परियारले जात, धर्म, वर्गमाथि प्रहार हुने भन्दै प्रहार रोकिनुपर्ने धारणा समेत व्यक्त गर्दै अगाडि लेखेका छन्, ‘मैले पढेको सङ्गीतको शास्त्रमा सङ्गीतको कुनै जात, धर्म, वर्ग, रङ्ग र भूगोल हुँदैन भनेर नै लेखिएको छ । म त्यही शास्त्रको लेखाई अनुसार नै सङ्गीतमा जीवन बाँच्ने यात्रा मै छु, प्रयास गरिरहेको छु’। ‘तर मेरो देशमा सङ्गीतकर्मी कलाकारको केहि बखेडा आउनसाथ सुरुमा जात र वर्गमा नै प्रहार गर्ने गरिएको छ । यस पटक कलाकार खेम सेन्चुरी भाइको हकमा पनि यस्तै भयो ।’





