आगामी चैत ८ गतेदेखि प्रदर्शनमा आउने चलचित्र ‘द्रौपदी’को टीजर सार्वजनिक भएको छ । १ मिनेट ३७ सेकेन्डको टीजर एक महिला पात्रको वरिपरि घुमेको छ ।
महिला संवेदनामा आधारित रहेको यो चलचित्रको टीजरले फिल्म एक अर्ग्यानिक अनि गम्भीर विषय उठाएको संकेत गर्छ ।
ऋषिराज आचार्य निर्देशित चलचित्र डोल्पाको शे फोक्सुण्डो ताल लगायत कर्णालीको विभिन्न रमणीय स्थलहरूमा छायांकन गरिएको हो । चलचित्र हालसम्म कसैले छायांकन नगरेका एकदमै रमणीय भर्जिन स्थलहरूमा छायांकन गरिएको निर्देशक आचार्यको भनाइ छ ।
‘द्रौपदी’ अन्तर्राष्ट्रिय बजारलाई समेत मध्यनजर गरी निर्माण भएको चलचित्र हो । चलचित्रमा आश्विनी शाही, रवि ओड, कबिराज भाम, जेल्सन अधिकारी, सुजाता तिमल्सिना, विष्णु ठडराई (सुवास), प्रकाश ज्ञवाली, सीता बौडेल, सुरज अधिकारी र ऋषिराज आचार्य स्वयंको पनि अभिनय छ ।
चलचित्रमा कथा, पटकथा, संवाद, गीत तथा निर्देशन ऋषिराज आचार्यको रहेको छ । चलचित्रको गीतमा रवि ओड र इन्द्रकला राईको आवाज रहेको छ भने ऋतु आचार्य र सुवास ठडराई यो फिल्मका सह–निर्माता हुन् । आरबि मुभिजको ब्यानरमा बनेको चलचित्रका निर्माता ऋषिराज आचार्य र प्रकाश ज्ञवाली हुन् ।