चलचित्र ‘तेस भिसा’ले प्रदशर्नको ५१ औँ दिन मनाएको छ । मंसिर ७ गतेबाट प्रदर्शनमा आएको चलचित्रले आज प्रदर्शनको ५१ औँ दिन मनाएको हो ।
१२ वटा सिनेमाघरमा ‘तेल भिसा’ले ५१ औँ दिन मनाएको वितरक करण श्रेष्ठले जानकारी दिए । प्रदर्शनको ५१ औं दिन मनाउँदै गर्दा चलचित्रकी प्रस्तुतकर्ता ऋचा घिमिरे र निर्देशक शंकर घिमिरेले विभिन्न बाधा अड्चन छिचोल्दै यहाँसम्म पुग्दै गर्दा साथ दिने सम्पुर्ण दर्शक तथा शुभचिन्तकहरु प्रति आभार प्रकट गर्दै खुशी व्यक्त गरेका छन् ।
दर्शक तथा समीक्षकबाट समेत राम्रो प्रतिक्रिया पाएको चलचित्र ‘तेल भिसा’ले क्यूएफएक्स, एफक्यूब, रञ्जना सिनेप्लेक्स, बीएसआर मुभिज, वान सिनेमाज, डीम्याक्स सिनेमाज, फ्रेन्डस सिनेमाज, सिने रोयललगायत मल्टिप्लेक्समा ५१ औँ दिन मनाएको हो ।
दक्षिण भारतीय फिल्म पुष्पा २ का कारण न्युन शोमा खुम्चिएको चलचित्रले दर्शकको साथ पाएपछि पाचौँ हप्तामा पनि ‘तेल भिसा’को शो थपिएको थियो । ‘तेल भिसा’को निर्देशक शंकर घिमिरे हुन् भने प्रस्तुतकर्ता ऋचा घिमिरे हुन् ।
चलचित्रमा अभिनेता विपिन कार्की बाबु र छोराको गरी दोहोरो भूमिकामा छन् । निर्देशक घिमिरेकै लेखन रहेको चलचित्रमा विपिनसँगै वर्षा राउत, पुजा चन्द, ऋचा घिमिरे, बुद्धि तामाङ, सुचित्रा उप्रेती र विदेशी कलाकारहरुको अभिनय रहेको छ ।
वेलडन क्रियसनको व्यानरमा ऋचा घिमिरेको प्रस्तुती रहेको चलचित्रमा अनिल पाण्डे र शिवराज कार्कीको लगानी छ ।
प्रिन्स युवराज कार्की र श्रुती दाहाल कार्यकारी निर्माता रहेको चलचित्रमा सुशन प्रजापतिको छायांकन, रामजी लामिछाने र शिशिर खातीको कोरियोग्राफी, आशिष अविरल, कल्याण सिंह र कृष्ण भारद्धाजको संगीत र अजय खड्काको सम्पादन छ ।






