नेपालगन्ज,गत बिहीबार फागुन २९ गतेदेखि प्रदर्शन भएको ‘अञ्जिला’हेर्न स्कुलका विद्यार्थीहरू हल पुगेका छन् । नेपालको राष्ट्रिय महिला फुटबल टिमकी कप्तान तथा गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित चलचित्र‘अञ्जिला’ मार्फत प्रेरणात्मक सन्देश प्रवाह हुने भएकाले स्कुलले आफ्ना विद्यार्थीलाई चलचित्र हेराएको जनाएका छन् । मंगलावार नेपालगन्ज स्थित सिनेमाघर सिनेरोयलमा नेपालगन्जको युनाइटेड एजुकेस्नल एकेडमी स्कुलका करीब २०० बढी विद्यार्थीले चलचित्र हेरेका छन् ।
स्कुलका विद्यार्थीहरूलाई प्रोत्साहन र हौसला मिलोस् भन्ने उद्देश्यले चलचित्र देखाएको स्कुलका निर्देशक तथा संचालक सतानन्द उपाध्यायले बताए ।
चलचित्र हेरेर विद्यार्थीहरूले जिवनमा हार खानु हुन्न र मेहनतको प्रतिफल मीठो हुन्छ भन्ने दरिलो संदेश चलचित्रबाट विद्यार्थीले सिकेको र म आफैँले पनि चलचित्र हेर्दा मनोरञ्जनसँगै,शिक्षा र कप्तान सुब्बाको जीवनलाई बुझ्न पाएँको उनले बताए ।
चलचित्रले सङ्घर्ष, निरन्तरता र सफलता सिकाउने भएका कारण पनि विद्यार्थीहरूलाई एकेडेमिक हिसाबले नै ‘अञ्जिला’ देखाइरहेको विद्यालयले जनाएको छ ।
‘अञ्जिला’ नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित छ, जसमा एन्जिला आफैँले प्रमुख भूमिकामा अभिनय गरेकी छन् । यसमा उनको बाल्यकालदेखि खेल जीवनसम्मको सङ्घर्ष र सफलताको भावुक कथा प्रस्तुत गरिएको छ । यस चलचित्रमा एन्जिलाको साथमा प्रेमकुमार श्रेष्ठ, सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, सुमीन गुरुङ, बुद्धि तामाङ लगायतका कलाकारको अभिनय रहेको छ ।