‘बाहुबली’ सिरिज मार्फत विश्वभरका दर्शक माँझ विश्वासलाई बलियो बनाउन सफल निर्देशक एसएस राजामौलीको निर्देशन रहेको पछिल्लो फिल्म ‘आरआरआर’ असोज २७ मा प्रदर्शन हुने भएको छ । निर्माण पक्षले आज आफ्नो सोसल मिडिया मार्फत फिल्म रिलिज घोषणा गरेको हो । तेलगुसँगै तामिल , मलायलम , कन्नड र हिन्दी भाषामा रिलिज हुने फिल्म यही वर्षको अक्टोबर १३ मा रिलिज हुन लागेको हो । यो डेटमा नेपालको पर्व दसैं पर्छ ।
फिल्मको छायांकन प्रारम्भ हुँदा जनवरीमा रिलिज हुने भनिएको फिल्म कोरोना भाइरसको कारणले सिर्जित अवस्थाको कारण सेड्युलमा फेरबदल गर्न बाध्य भएको थियो । अन्तिम सेड्युल केही दिनअघि मात्र सकिएको फिल्ममा जुनियर एनटीआर , रामचरणसँगै अजय देवगन र आलिया भट्टको मुख्य भूमिका रहेको छ । फिल्म ब्रिटिस समयको स्वतन्त्रता सेनानी सीताराम राजुको कथामा आधारित छ ।
३ सय करोड हाराहारी निर्माण लागत रहेको फिल्मको प्रतिक्षा विश्वव्यापी छ । यसको रिलिज घोषणाले नेपालमा असर गर्ने देखिएको छ । नेपाली फिल्मनगरीमा दसैं लक्षित रिलिज हुने गर्छन र फिल्मले राम्रो आम्दानी पनि गर्दै आइरहेको छ । यद्दपी ‘आरआरआर’ को रिलिज घोषणाले उक्त समयमा नेपालमा एक फिल्म भन्दा बढी रिलिज नहुने तय जस्तै छ ।