Close sidebar

गुलाम अलिको गीत ‘गाजलु ती ठुला ठुला आँखा’को भिडियो सार्वजनिक

फाल्गुन ९, २०८१

नेपाली सङ्गीतको इतिहासमा विशेष स्थान राख्ने कालजयी गीत ‘गाजलु ती ठुला ठुला आँखा’को नयाँ भिडियो सार्वजनिक भएको छ । उस्ताद गुलाम अलिको सुमधुर स्वरमा सजिएको यो गीतलाई म.वि.वि. शाह (स्वर्गीय राजा महेन्द्र वीरविक्रम शाह) ले रचना गरेका हुन् भने सङ्गीत दीपक जङ्गमले दिएका छन् ।

यो गीत पहिलो पटक २०४२ साल (सन् १९८५) मा रेकर्ड गरिएको थियो । उस्ताद गुलाम अलिले नेपाल भ्रमणका क्रममा चार वटा गीत रेकर्ड गरेका थिए, जसमा ‘गाजलु ती ठुला ठुला आँखा’ पनि समावेश थियो । तीन दिनको अवधिमा रेडियो नेपालको स्टुडियोमा यो गीत रेकर्ड गरिएको थियो ।

हालै, म्युजिक नेपालले क्रिएटिभ आवर प्रोडक्सन र ड्याड प्रोडक्सनको सहकार्यमा यस गीतको नयाँ भिडियो निर्माण गरी सार्वजनिक गरेको हो । यसको भिडियोमा शङ्कर श्रेष्ठ र अञ्जना बराइलीले अभिनय गरेका छन् । यसको भिडियोको अवधारणा तयार र निर्देशन सुब्रत आचार्यले गरेका हुन् भने छायाङ्कन उत्सव दाहालले गरेका छन् । भिडियोको सम्पादन विकास दाहालले गरेका छन् ।

हेयर र मेकअपको जिम्मेवारी सुप्रिया आर.एल. शाहले सम्हालेकी छन् भने स्टाइलिङ आशिम रानाभाटले गरेका छन् । प्रोडक्सन डिजाइनरको रूपमा दिपेन्द्र गौतम ‘माइकल’ले काम गरेका छन् भने सहायक निर्देशक साईब्रत आचार्यले भिडियोको समन्वयमा भूमिका निर्वाह गरेका छन्, क्रिएटिभ निर्देशन जया शर्माले गरेकी छन् ।

‘गाजलु ती ठुला ठुला आँखा’ गीतले नेपाली सङ्‌गीतप्रेमीहरूको मनमा विशेष स्थान बनाएको छ । यस गीतको लोकप्रियता नेपालमा मात्र सीमित नभई छिमेकी मुलुकहरूमा पनि फैलिएको छ । पाकिस्तानी गायिका सारा राजा खानले पनि यो गीत गाएर सामाजिक सञ्जालमा चर्चा पाएकी थिइन् ।

यस गीतको नयाँ भिडियोले पुरानो सङ्गीतलाई नयाँ पुस्तासम्म पुर्‍याउने प्रयास गरेको छ । सङ्गीतप्रेमीहरूले यो भिडियो म्युजिक नेपालको आधिकारिक च्यानलमा हेर्न सक्नेछन् ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया