हरिवंश आचार्यको बहुप्रतिक्षित चलचित्र भूठानको टिजर सार्वजनिक भएको छ । भूठान शव्दले कुनै समय आफ्नो घर रहेको तर अहिले हराईसकेको वा परिवर्तन भईसकेको स्थान भन्ने बुझाउँछ ।
सार्वजनिक भएको टिजरमा हरिवंश आचार्य बिल्कुल नयाँ अवतारमा प्रस्तुत भएका छन्। अमेरिका लगिएका भुटानी आप्रवासीको भूमिकामा देखिएका हरिवंश गम्भीर भाव र मुद्रामा देखिएका छन् जहाँ उनी आफनो देश फर्कन खोजेको तर नपाएर विक्षिप्त बनेको मानसिक रोगी भएको देखाईएको छ ।
एक दृश्यमा दयाहाङ र जोयश पाण्डेले अभिनय गरेका पात्रहरु दाजुभाइ रहेको र बाबुको लाशलाई गाड्ने कि जलाउने भनेर वादविवाद गर्दै गरेको देखिन्छ। सो दृश्यले चलचित्रमा यो विवादको अन्त्य कसरी होला भन्ने कौतुहलता प्रदान गरेको छ । अर्को एक दृश्यमा समलैंगिक सम्वन्ध राखेको थाहा पाएर आफ्नी छोरीलाई हकार्दै गरेकी आमा पात्रको भूमिकामा रिचा घिमिरे देखिएकी छिन्। खुला समाजले दिएको स्वतन्त्रता र त्यसले परिवारमा ल्याएको तनाव सो दृश्यले देखाउन खोजेको छ ।
हलिउडका विश्वविख्यात अभिनेता ब्रूस डर्न पनि पहिलो पटक नेपाली निर्देशकले बनाएको फिल्ममा देखिएका छन् जसले चलचित्र अन्तराष्ट्रिय स्तरमै बनेको देखिन्छ। टिजरको अन्तमा महामृत्युन्जय मन्त्र पढदै गरेको धमिलो नांगो शरीर र तेरो पुर्नजन्म भयो भन्दै पानीमा चोपलेर निकालिएको अर्को शरीर देखाईएको छ जसले चलचित्रको कथावस्तु अत्यन्त गम्भीर रहेको र हरिवंश आचार्यले अभूतपूर्व अभिनय र भूमिका निर्वाह गरेको प्रष्ट देखिन्छ ।
चलचित्र भित्र हरिवंशको पुनर्जन्म हुन्छ कि हुँदैन पुरै चलचित्र नआई भन्न सकिन्न तर अभिनयको दुनियाँमा भने उनको पुनर्जन्म हुने निश्चित देखिएको छ । यति लामो उनको अभिनय यात्रामा यो खालको हाउभाउ र चरित्र अहिलेसम्म नेपाली चलचित्रका दर्शकले देख्नै पाएका थिएनन् ।
चलचित्रको टिजरमा देखिएको अर्को अभूतपूर्व काम भनेको सुसन प्रजापतिको छाँयाकन हो । प्रस्तुत कुनै पनि दृश्य र दृश्यभाषा अहिलेसम्म बनेका नेपाली चलचित्रको जस्तो छैनन् र यो कुनै हलिउडकै सिनेमा हो कि भन्ने लाग्छ । सरसरती हेर्दा निर्देशक विनोद पौडेलले नेपालका कलाकार र हलिउडका विश्वविख्यात अभिनेता ब्रूस डर्नलाई लिएर विशेष काम गरेका छन् भन्ने छनक देखिएको छ ।
अंग्रेजीमा ‘द वल्र्डस् ह्याप्पिएस्ट म्यान’ नाम रहेको यो चलचित्रको मुख्य भूमिकामा हरिवंश आचार्य साथै दयाहाङ राई, अनुराधा मजुमदार, पूजा चन्द –लामा , रिचा घिमिरे, जोएस पाण्डे, ,अदिति प्याकुरेल, टम क्रेन ,विमल सुवेदी साथै हलिउडका विश्वविख्यात अभिनेता बु्रस डर्नले विशेष भूमिकामा अभिनय गरेकाछन् । हलिउडको साग अफट्रा अन्तर्गत रहेर बनेको यो पहिलो नेपाली चलचित्र हो जसमा हलिउडका केही प्राविधिकहरुले पनि काम गरेका छन् ।
सन् २०१९ मा ९२ औं अस्कर अवार्डको लागि नेपालबाट मनोनित चलचित्र “बुलबुल” निर्देशन गरेर नेपाल सरकारले प्रदान गर्ने सर्वोत्कृष्ट निर्देशकको राष्ट्रिय चलचित्र पुरस्कार पाएका विनोद पौडेलको यो दोस्रो चलचित्र हो ।
यस चलचित्रको प्रमुख निर्मातामा अविरल थापा,राजेन्द्र ठकुराठी,अमिताव जोशी,ुसुशांक मैनाली र किर्तना बाँस्कोटा छन् । साथै कार्यकारी निर्मातामा विकाश भिटो अधिकारी , कौशिला खनाल –कर्माचार्य,रमेश भट्ट,अपार श्रेष्ठ ,भुवन प्याकुरेल छन् भने सह निर्मातामा जोयस पाण्डे, , प्रदीप शर्मा (बडाईं),राजु पौडेल,रविन पोखरेल र नवराज पराजुली छन् । यसका अलावा दिपक गजमेर लाईन प्रड्युसर र एसोसियट प्रड्युसरमा एली बोहरा रहेकी छन् ।
चलचित्रमा सुसन प्रजापतिको छायांकन,अन्जय खड्काको सम्पादन,डिकेश खडगी शाहीको ध्वनी,सम्बरन प्रेथु राईको संगीत, सुर्य शाहीको कास्टीङ्ग, उज्जवल श्रेष्ठको पव्लिसिटि डिजाइन, विमल सुवेदीको प्रोडक्सन डिजाइन,बलिउडका प्रख्यात कला निर्देशक अन्जन गजुरेलको कला निर्देशन रहको छ ।
यस चलचित्रलाई ठकुराठी ब्रोज,भ्याकेन्ट लाईट, एभरेष्ट ईन्टरटेनमेन्ट,अमेरिकाको सहकार्यमा नेपालको अवेकन प्रोडक्सन् र अमेरिकाको म्याड मंकी फिल्मसले निर्माण गरेको हो ।
चलचित्रले भुटानदेखि नेपालहुँदै अहिले अमेरिकामा बसोवास गरिरहेका भुटानीहरुको देशप्रेम र थातथलो छोडेर विदेशमा बस्नुपर्दा आफनो जन्म घर हराएको सबै आप्रवासीको पिडा प्रस्तुत गरेको छ । यो चलचित्र वैशाख १२ ,२०८२ मा संसारभर प्रदर्शनमा आउनेछ ।





