Close sidebar

‘डोरी’ को पहिलो गीत ‘चुच्चे ढुङ्गो उही टुङ्गो’ सार्वजनिक

माघ २१, २०८१

चैत्र १५ गते रिलिज हुने चलचित्र ‘डोरी’ को पहिलो गीत ‘चुच्चे ढुङ्गो उही टुङ्गो’ सार्वजनिक गरिएको छ । राजनराज सिवाकोटी र अन्जु पन्तको स्वर रहेको यो गीत राजनराज सिवाकोटीले नै लेखेका र सङ्गीतबद्ध गरेका हुन् । गीतमा आर्यन सिग्देल र अञ्जना बराइलीको नृत्य देख्न सकिन्छ ।

सङ्गीत संयोजन राजन ईशानले गरेका छन् भने सहायक स्वर सुनी थापाले दिएकी छिन् । यसको छायाङ्कन निर्देशक सौरभ लामा हुन् भने नृत्य निर्देशन कविराज गहतराजले गरेका छन् ।

गायक, गीतकार तथा सङ्गीतकार राजनराज सिवाकोटी नेपाली समाजमा प्रचलित ठेट शब्दहरूलाई गीतमा लयबद्ध गर्न माहिर मानिन्छन् । यस गीतमा पनि उनले उसिनेको आलु, नुन खुर्सानी, गुन्द्रुक, ढिँडो, घट्ट, मुरी अन्न, डोको जस्ता ठेट नेपाली शब्दहरूको प्रयोग गरेका छन्, जसले गीतलाई नेपाली मौलिकताको झल्को दिएको छ ।

यसअघि ‘डोरी’का पोस्टरहरू सार्वजनिक गरिएको थियो, जसले चलचित्र थ्रिलर तथा हरर श्रेणीको हुनसक्ने सङ्केत दिइएको थियो । तर, सार्वजनिक गीतमा अभिनेता आर्यन सिग्देल र अभिनेत्री अञ्जना बराइलीलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ । यसअघि आर्यन र अञ्जना सुपर हिट चलचित्र ‘पुजार सार्की’मा सँगै अभिनय गरेका थिए ।

‘डोरी’को लेखन तथा निर्देशन अरुण लामाले गरेका हुन् । चलचित्रमा प्रवीण खतिवडा, शिशिर बाङ्देल, प्रकाश घिमिरे, अरुण लामा, अञ्जना बराइली, राज पौडेल, कविता आले, नूतन, राज थापा, वीरेन्द्र सिंह कुशवाहा लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

चलचित्रका निर्माता दिनेश भट्टराई हुन् भने कार्यकारी निर्माता राज थापा रहेका छन् । चलचित्रको स्क्रिप्ट डाक्टर मनोज पण्डित हुन् भने सम्पादक मिलन श्रेष्ठ रहेका छन् ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया