यही माघ २५ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र हो ‘सारंग’ । प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण युनिटले चलचित्रको नयाँ गीत ‘मेरो बाबा मेरो आमा’ सार्वजनिक गरेको छ ।
गीतमा आयुष गिरी, अनुमा चौधरी र जयन्त माधव बराइलीको गायन, दीपक शर्माको शब्द तथा शंकर थापा (स्माइल)को संगीत छ ।
मर्मस्पर्शी भावको गीतमा बुबाआमाले सन्तानका लागि गरेको माया, संघर्ष र त्यागको बखान छ । गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार ऋचा शर्मा, उत्पल झा र आदित्य कार्की देखिएका छन् । आदित्यले विद्यालयको अभिभावक दिवसमा गीतमार्फत बुबाआमाप्रति व्यक्त गरेको भावलाई दृश्यमा उतारिएको छ ।
भिडियोको अन्तिममा आदित्यले गाएको गीतले ऋचा भाव विह्वल भएको देख्न सकिन्छ । चलचित्रमा ऋचा आमाको भूमिकामा छिन् । बालमनोविज्ञान र धनी–गरिबबिचको खाडलको कथा चलचित्रले प्रस्तुत गर्छ ।
प्रशान्त तामाङको लेखन तथा निर्देशन रहेको चलचित्रमा सुरज तमु, समीरमणि दीक्षित, मणि के राई, अनिषा न्यौपाने, निरज ब्ल्याक, विश्व स्याङ्बो, दीपिका थापा, सुमन सागर जंग केसी लगायतको पनि अभिनय छ ।
दर्शन बुद्ध फिल्मसको प्रस्तुतिमा बनेको ‘सारंग’को निर्मातामा प्रेम तामाङ र फूलमाया तामाङ हुन् । पुष्पा लिम्बू र बिनु गुरुङ सह–निर्माता रहेको चलचित्रमा शंकर थापा ‘स्माइल’ र नकुल कार्कीको संगीत, सुष्मा राईको कोरियोग्राफी, गोपाल रायको डिओपी र मित्र डि गुरुङको सम्पादन छ ।