निरज महर्जनले निर्देशन गरेको चलचित्र ‘फेरि रेशम फिलिली’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । निर्माणपक्षले ‘फेरि जालमा’ गीत रिलिजको एक दिन अगाडि अर्थपूर्ण दुई पोस्टर सार्वजनिक गरेको हो ।
पोस्टरमा यो चलचित्रका मुख्य तीन कलाकारहरू विनय श्रेष्ठ, कामेश्वर चौरासिया र सुपुष्पा भट्टलाई प्रस्तुत गरिएको छ । पोस्टरमा विनय हातमा पासपोर्ट बोकेर उभिएका छन् भने सुपुष्पा आक्रोशपूर्ण शैलीमा हातमा बन्दुक बोकेर उभिएको र अर्का पात्र कामेश्वरले भने दुई हात जोडेर माफी मागिरहेको देखाइएको छ ।
वैदेशिक रोजगारीको कथालाई उठान गरेको यो चलचित्रको पोस्टरमा नेपालको धरहरा र अमेरिकाको स्ट्याचु अफ लिबर्टी पनि देख्न सकिन्छ । रौनक विक्रम कँडेलको लगानी रहेको चलचित्रमा सुरज बम ठकुरी कार्यकारी निर्माता रहेको फिल्ममा एनी थापा सह–निर्माताको रुपमा छिन् ।
यो चलचित्रमा नीर शाह, प्रकाश घिमिरे, शिशिर वाङ्देल, रविन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल, सजन थापा लगायतका कलाकारहरुको अभिनय छ ।
सिनेमा आर्ट र वि मोसन पिक्चर्सको सहकार्यमा निर्माण भएको यो चलचित्रमा सुशन प्रजापतिको छायांकन, निर्देशक महर्जन र आकाश बरालको पटकथा, नरेश किङ्ग योगीको एक्सन, कालीप्रसाद बाँस्कोटा, एसडी योगी, हर्क साउद, जयन जे वाइवा, दीपक शर्माको संगीत, सुरेन्द्र पौडेलको सम्पादन छ ।