अभिनेता राजबल्लभ कोइराला आफ्नो कमब्याक चलचित्र ‘एक्टर: टेक वन’को प्रवर्द्धन गर्न अमेरिकाबाट काठमाडौं आइपुगेका छन् । शनिबार साँझ ६ बजे त्रिभुवन विमानस्थलमा ओर्लिएका उनलाई चलचित्रका मुख्य अभिनेता प्रदीप खड्का, निर्देशक राजन भुसाल लगायतले स्वागत गरेका थिए ।
राजबल्लभ नेपाल आउनुमा दुईवटा उद्देश्य छ । एउटा ‘एक्टर’को प्रवर्द्धन भइहाल्यो । उनले आइतबार केही मिडियामा अन्तर्वार्ता दिनेछन् भने सोमबार प्रिमियरमा उपस्थिति जनाउनेछन् ।
त्यसपछि यो चलचित्र रिलिज भएपछि उनले हलमा दर्शकसँग पनि भेट गर्नेछन् । अर्को उद्देश्य भनेको उनको पहिलो कविता संग्रह ‘औरा’को विमोचन पनि हो ।
उनको यो चलचित्रमा नकारात्मक भूमिका छ । उनी लामोसमयको अन्तरालपछि यो चलचित्रमा कमब्याक गरेका हुन् । यो पटक उनको काठमाडौं बसाइँ १२ दिनको रहने जनाइएको छ ।