चलचित्र ‘एक्टर: टेक वन’ले ‘एक्टिङ कन्टेस्ट’ घोषणा गरेको छ । यो कन्टेस्टका एक जना विजेताले ‘एक्टर: टेक वन’को निर्माण कम्पनी अधृत फिल्म्स् प्रा.लि.ले निर्माण गर्ने आगामी चलचित्रमा अभिनयको लागि अवसर प्राप्त गर्नेछन् ।
यो कन्टेस्टमा विश्वभरका नेपालीहरूले सहभागिता जनाउन सक्नेछन्, जसको लागि चलचित्र ‘एक्टर: टेक वन’को टिजर, ट्रेलर वा गीतहरूको कुनै पनि भागमा कम्तीमा १ मिनेट लामो भिडियो बनाई आफ्नो सोसल मिडिया ह्यान्डलमा पोस्ट गर्नुपर्ने हुन्छ । पोस्ट गर्दा यस चलचित्रका ह्यान्डलहरू फेसबुकमा aktornepalifilm, इन्स्टाग्राममा aktorthefilm र टिकटकमा aktornepalifilm लाई ट्याग वा मेन्सन गर्नुपर्ने तथा ह्यासट्यागमा #AKTORMAGH16 लेख्नुपर्ने जनाइएको छ ।
यो कन्टेस्टमा सहभागीले नियमपूर्वक पोस्ट गरेका भिडियोलाई चलचित्रको आन्तरिक सृजनात्मक टिमले मूल्याङ्कन गरी विजेता घोषणा गरिने बताइएको छ । यो कन्टेस्टको समयावधि चलचित्र रिलिजको दोस्रो हप्ता (माघ ३०) गतेसम्म रहने छ ।
राजन भुसालद्वारा निर्देशित यस चलचित्रमा प्रदिप खड्का, आना शर्मा, दिव्या रायमाझी, राजबल्लभ कोइराला, दिव्य देव, सृजना अधिकारी, उषा रजक, सुशील सिटौलालगायतका कलाकारहरूको प्रमुख भूमिका रहेको छ ।
चलचित्रको स्क्रिप्ट आकाश बराल र राजन भुसालले लेखेका हुन् । यस अधृत फिल्म्स् र अ मोती फिल्मको संयुक्त प्रस्तुति रहेको यो चलचित्रमा निर्माता थमन कुमार भण्डारी, क्रियटिभ प्रोड्युसर मोती कार्की र सह-निर्माता अनीश भुसाल रहेका छन् । यो चलचित्र यही माघ १६ गते रिलिज हुँदैछ ।