हरर कमेडी चलचित्र ‘फिरफिरे फिरिरी’ को ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्र विकास बोर्डको हलमा सोमबार एक कार्यक्रमका बिच ट्रेलर सार्वजनिक गरिएको हो ।
सार्वजनिक ट्रेलरले चलचित्रको कथावस्तुबारे प्रकाश पार्छ । झन्डै ३ मिनेट लामो ट्रेलरले गाउँघरमै बसेर विभिन्न पेशा अंगालेका ४ युवकको जीवनमा एक युवतीको आगमनपछि उत्पन्न परिस्थिति झल्काएको छ । ट्रेलर हेर्दा चलचित्रले हररमा पनि नयाँ स्वाद दिने अनुमान गर्न सकिन्छ ।
माघ ४ गतेबाट प्रदर्शनमा आउने चलचित्र नविन भट्टले निर्देशन गरेका हुन् ।
कार्यक्रममा निर्माता तथा कलाकार मनोज अधिकारीले चलचित्र फरक कथा बस्तुमा र नौलो शैलीमा निर्माण भएको जानकारी दिए ।
चलचित्रमा सन्दीप श्रेष्ठ, भावना उप्रेती, रविना केसी, पिटर प्रिन्स, मनोजकुमार अधिकारी, शंकर सेढाई, सूर्यमान लिम्बू, पुष्प अवस्थी लगायतको अभिनय छ । निर्देशक भट्ट र सन्दीप श्रेष्ठले फिल्मको स्क्रिप्ट मिलेर लेखेका हुन् ।
बिन्दबासिनी क्रियसनको ब्यानरमा निर्माण भएको चलचित्रलाई देशभर आरआर फिल्मस्ले वितरण गर्दैछ ।