चलचित्र ‘मिसिङः केटी हराएको सूचना’को नयाँ गीत सार्वजनिक भएको छ । आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा इन्दिरा जोशी र करण परियारको स्वर, करूण थापाको शब्द तथा संगीतमा तयार भएको गीतको भिडियो सार्वजनिक गरिएको हो ।
सार्वजनिक गीतको भिडियोमा नाजिर हुसेन र श्रृष्टी श्रेष्ठ प्रस्तुत छन् । भिडियोमा नाजिर र श्रृष्टीको प्रेमभाव देख्न सकिन्छ । यी दुइको केमेस्ट्री गजबको छ ।
रामजी लामिछानेको कोरियोग्राफीमा तयार भएको भिडियोमा निशा राजभण्डारी र बन्दे प्रसादको सम्पादन छ । मानकृष्ण महर्जनले यो चलचित्र खिचेका हुन् । यो चलचित्रमा नायक नाजिर हुसेन र नायिका श्रृष्टी श्रेष्ठको प्रमुख भूमिका रहेको छ ।
आगामी माघको ११ गतेबाट रिलिजमा आउन लागेको यो चलचित्रले तराईको एक केटा र काठमाडौंकी एक केटीको प्रेमकथा भन्छ । चलचित्रलाई ट्रि–सिटी पिक्चर्सको प्रस्तुतिमा दीपेन्द्र गौचनले निर्देशन गरेका हुन् ।