अमेरिकामा ‘पहिलो गोल्डेन नेपाली फिल्म अवार्ड’ आयोजना गरिएको छ । आइतबार बेलुका आयोजना भएको अवार्डको पहिलो संस्करणमा विभिन्न नेपाली चलचित्र, कलाकार र प्राविधिक सहभागि भएका थिए ।
हिमालय फाउन्डेसन कर्प र गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको प्रमुख आयोजनामा सम्पन्न भएको यो अवार्डमा सहभागी हुन नेपालबाट नीर शाह, शिव श्रेष्ठ, भुवन केसी, दीपाश्री निरौला, सुनिल थापा, अनमोल केसी, केकी अधिकारी, आँचल शर्मा, केदार घिमीरे, जितु नेपाल, नीति शाह, वर्षा सिवाकोटी लगायतका कलाकार अमेरिका पुगेका थिए ।
अवार्ड कार्यक्रममा नेपाली चलचित्रका चर्चित नायक शिव श्रेष्ठलाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’बाट सम्मानित गरिएको छ । यस्तै, नायक अनमोल केसीले ‘फर्की फर्की’ चलचित्रबाट ‘उत्कृष्ट नायक’को अवार्ड हात पार्दा नायिका आँचल शर्माले ‘डिग्री माइला’बाट ‘उत्कृष्ट नायिका’को अवार्ड हात पारिन् ।
त्यस्तै, अभिनेता प्रदीप खड्का र अभिनेत्री केकी अधिकारीलाई ‘पपुलर अभिनेता र अभिनेत्री’को अवार्ड प्रदान गरिएको छ । वि.सं २०८० साल साउन १ गतेबाट वि.सं २०८१ साल असार मसान्तसम्म प्रदर्शन भएका चलचित्रहरुको आधारमा अवार्ड आयोजना गरिएको हो ।
त्यस्तै, सर्वोत्कृष्ट चलचित्र ‘पुजार सार्की’ले पाउँदा यही चलचित्रबाट निर्देशक दिनेश राउतले ‘सर्वोत्कृष्ट निर्देशक’को अवार्ड हात पारे । दीपेन्द्र लामाले चलचित्र ‘नाङ्गो गाउँ’बाट ‘सर्वोत्कृष्ट लेखन’, यही चलचित्रबाट आलोक शुक्लाले ‘सर्वोत्कृष्ट छायांकार’, चलचित्र ‘उपहार’बाट मित्र डी गुरुङले ‘सर्वोत्कृष्ट सम्पादक’, प्रमोद अग्रहरिले चलचित्र ‘अगस्त्य’बाट ‘सर्वोत्कृष्ट सह–अभिनेताको अवार्ड हात पारे ।
‘बोक्सीको घर’ले ‘जुरी अवार्ड’ हात पार्दा ‘नाङ्गो गाउँ’बाट एसडी योगीले ‘सर्वोत्कृष्ट पाश्र्व गायक’ र ‘बोक्सीको घर’बाट समीक्षा अधिकारीले ‘उत्कृष्ट पाश्र्व गायिका’को अवार्ड पात पार्न सफल भइन् । ‘क्रिटिक्स अवार्ड’ भने चलचित्र ‘गाउँ आएको बाटो’ले जितेको छ ।