अभिनेता सौगात मल्लको प्रमुख भूमिका रहेको चलचित्र ‘बम बहादुर’को पूर्वी नेपालको इटहरीमा पत्रकार सम्मेलन आयोजना गरिएको छ । उक्त समारोहमा अभिनेता मल्लले यो चलचित्रको कथा आफ्नै जस्तो लागेको र यसले दर्शकको मन जित्ने विश्वास व्यक्त गरे ।
यही पुस ५ गते नेपाल र भारतमा एकसाथ प्रदर्शन हुने यो चलचित्रले सन् १९८६ मा दार्जिलिङमा भएको गोर्खाल्यान्ड आन्दोलनको पृष्ठभूमिमा मानव जीवनका आरोह-अवरोहहरूलाई पर्दामा उतारेको छ । यसले भारतका नेपाली, विशेष गरी दार्जिलिङ पहाड र छिमेकी क्षेत्र डुअर्समा बसोबास गर्ने नेपाली समुदायको सङ्घर्षका पलहरूलाई मार्मिक ढङ्गले चित्रण गरेछ ।
लेखक तथा निर्देशक जोन राईले यो चलचित्र बनाउनुको उद्देश्य आफ्नो इतिहास नबिर्सौँ भन्ने रहेको बताए । चलचित्रको महत्वलाई उजागर गर्दै राईले भने, ‘अर्को उद्देश्य भनेको अब त्यस्तै प्रकारको आन्दोलन नहोस् । भिन्न प्रकारको शिक्षित समाज बनोस् तथा खुकुरी र बन्दुकले होइन दिमागले आन्दोलन गरौँ भन्ने हो ।’
अभिनेता मल्लले चलचित्रमा दर्शकले आफ्नै कथा देख्ने अपेक्षा गरे । ‘मलाई विश्वास गरी यो पात्रको लागि मलाई छनोट गर्नुभएकोमा निर्देशक निर्मातालाई धन्यवाद छ । स्क्रिप्ट पढ्दा मलाई आफ्नै कथा जस्तो महसुस भएको थियो । म निकै भावुक भएको थिएँ र तुरुन्तै मैले यो कथामा काम गर्छु भनेर सोच्न खासै समय लगाइन । नेपालमा बस्ने जतिले पनि यो चलचित्र हेर्नु हुन्छ यो कथा आफ्नै हो जस्तो लाग्छ भन्ने लाग्छ,’ उनले भने।
उनले अगाडि भने, “यो कथा कसरी बुन्न सकिन्छ होला भन्ने थियो । त्यहाँ सुटिङमा जुन खालको सम्मान पाएँ, ती ठाउँहरू मेरा एकदमै प्रिय भएका छन् । यो चलचित्र राम्रो बनेकोले हामी सबैको मन जित्ने विश्वास छ । मेरो पात्र रोचक छ, सायद यस्तो पात्रमा मैले अहिलेसम्म काम गरेको छैन ।”
चलचित्रकी प्रमुख अभिनेत्री अनिशा रसाइलीले यो चलचित्रले हामी सबैको एउटै कथा हो भन्ने पक्षलाई उजागर गर्ने बताइन् । “म सिक्किमको भएकोले मलाई त्यति धेरै आइडिया थिएन, जब म यो फिल्म सुट गर्न थालेँ, त्यो लोकेसनमा पुरानो समयमा समस्या भोग्नु भएकाहरूको कुरा सुन्दा डरलाग्दो थियो । मेरो अनुरोध छ कि यो फिल्म जरुर हेर्दिनुस् र त्यो पीडालाई महसुस गर्नुस् । हामी सबै एउटै हौँ,” रसाइलीले भनिन् ।
कलाकार शान्तिला तामाङले यस चलचित्रबाट आफूले ठूलो आशा बोकेको बताइन् । दार्जिलिङ निवासी उनले भनिन्, “नेपाललाई दुःख हुँदा हामीलाई पनि दुख्छ । चलचित्रमा जुन कथा उठाएका छौँ यसले नेपालीलाई पक्कै छुन्छ ।”