अभिनेता प्रवीण खतिवडा र अभिनेत्री अञ्जना बराइलीको प्रमुख भूमिका रहने चलचित्र ‘डोरी’को शुभ मुहूर्त सम्पन्न गरिएको छ । बिहीबार ललितपुरको झम्सिखेलस्थित युला सरस्वती मन्दिरमा क्यामेरा तथा स्क्रिप्ट पूजा गर्दै सम्पन्न मुहूर्त सम्पन्न गरिएको हो ।
यो चलचित्रको मुहूर्त कार्यक्रममा कलाकारहरु प्रवीण खतिवडा, अञ्जना बराइली, शिशिर बाङ्गदेल, राज पौडेल, वीरेन्द्र सिंह कुशवाहा, विशाल राई, मिलन राई, र नूतनलगायतका कलाकारहरूले पूजामा सरिक हुँदै चलचित्रको सफलताका कामना गरे । साथै, निर्देशक अरुण लामा, कार्यकारी निर्माता राज थापा, छायाकार सौरभ लामा, र सङ्गीतकार राजनराज सिवाकोटी लगायतका टिमका मुख्य सदस्यहरूको पनि सहभागिता रह्यो । चलचित्रमा कविता आले, सजन श्रेष्ठ लगायतको पनि अभिनय रहनेछ ।
अरुण लामाले यो चलचित्रलाई निर्देशन गर्नेछन् । उनका अनुसार यो चलचित्र ‘डोरी नामले बाँधिएको सम्बन्ध र जिम्मेवारीलाई प्रस्तुत गर्छ । यो चलचित्रका पात्रहरू आ-आफ्ना तरिकाले बाँधिने छन् । कोही जिम्मेवारीको डोरीले, कोही समस्याको डोरीले, र कोही मायाको डोरीले बाँधिने छ ।
त्यस्तै, अञ्जना बराइलीले नयाँ टिमसँगको सहकार्यलाई विशेष अनुभवका रूपमा लिएको बताइन् । अर्का अभिनेता प्रवीण खतिवडाले ‘डोरी’लाई विभिन्न श्रेणीको मिश्रण रहेको चलचित्रका रूपमा परिभाषित गरे ।
अरुण लामा स्वयंमको लेखन रहने यो चलचित्रको मनोज पण्डितले ‘स्क्रिप्ट डक्टरिङ’ गरेका छन् । यसका निर्माता दिनेश भट्टराई हुन् भने कार्यकारी निर्माता राज थापा रहेका छन् ।