यतिवेला ‘सक्किगोनि’ टिमले निर्माण गर्ने सिनेमा ‘लाज शरणम्’को कलाकार छनोट र प्रि–प्रोडक्सनको काम धमाधम भैरहेको छ । एकपछि अर्को कलाकारको प्रवेश सिनेमामा धमाधम भैरहेको छ । सिनेमामा अधिकांश ‘सक्किगोनि’ टिमका कलाकार नै रहने देखिएको छ ।
गत साउनमा सिनेमाका लेखक तथा निर्देशक कुमार कट्टेलको जन्मदिनको अवसरमा औपचारिक निर्माण घोषणा गर्दा सिनेमामा ‘सक्किगोनि’ टिमबाट सागर लम्साल (बले), अर्जुन घिमिरे (पाँडे), र कमलमणी नेपाल (खुपीका बाउ)को अभिनय रहने जानकारी दिइएको थियो । आफ्नो टिम बाहिरबाट मुकुन्द श्रेष्ठ, विजय बराल र माला लिम्बुको अभिनय रहने फाइनल थिए । बाँकी कलाकारको जानकारी विस्तारै दिने बताइएको थियो ।
त्यससँगै सिनेमामा निर्माण टिमले एकपछि अर्को कलाकार अनुबन्धित गर्दै गइरहेको छ । अहिलेसम्म सिनेमामा रामभजन कामत, बबिन राई (गल्फने बाजे), प्रियना आचार्य (मुन्नी) ‘सक्किगोनि’ टिमबाट र बाहिरबाट अभिनेता महेश दवाडी र अभिनेत्री रेनु नाथ योगी अनुबन्धित भैसकेका छन् ।
यसैबीच सिनेमामा हरिष निरौला (कक्रोज) अनुबन्धित भएका छन् । निर्माण टिमले बिहीबार सिनेमा कक्रोजको पनि अभिनय रहने जानकारी दिएको हो । आगामी भदौ तेस्रो साताबाट फ्लोरमा जाने तयारीमा रहेको सिनेमा फागुन १४ गते महाशिवरात्रीको अवसरमा नेपालभरका सिनेमा हलमा रिलिज हुनेछ ।
जेपिटी क्रियसनको ब्यानरमा निर्माण हुने सिनेमामा नवीन श्रेष्ठ निर्माता र राम नरेश शाह सह–निर्माताको रुपमा रहेका छन् ।