आगामी असोज ११ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको चलचित्र ‘ह्रस्व दीर्घ’को रिलिज प्रि-पोन्ड भएको छ । अब यो चलचित्र एक हप्ता अगाडि सर्दै असोज ३ गते अर्थात् संविधान दिवसको अवसरबाट प्रदर्शनमा आउने भएको हो ।
अभिनेत्री तथा निर्मात्री नीता ढुंगानाले चलचित्रलाई एक हप्ता अगाडि सार्नुको पछाडि दुईवटा कारण मानेकी छन् । पहिलो, असोज ११ गते आउँदा दोस्रो हप्तादेखि दशैंका दुई ठूला सिनेमा ‘छक्का पञ्जा ४’ र ‘बेहुली फ्रम मेघौली’ले असर गर्ने । दोस्रो, असोज ३ मा आउँदा संविधान दिवस र असोज ९ गते जितिया पर्वको गरी दुईवटा विदा पाइने । यसैले चलचित्रको प्रदर्शन मिति परिवर्तन गरिएको उनले बताइन् ।
द्वन्द्व निर्देशक चन्द्र पन्तको निर्देशनमा तयार भएको चलचित्रमा नेपाली र दक्षिण भारतीय सिनेमाका चर्चित कलाकारहरुको सुची लामो नै छ । नेपालबाट नीता ढुंगाना, हरिहर अधिकारी, विपना थापा, गरिमा शर्मा, प्रशान्त ताम्राकार, सरोज खनाल, बुद्धि तामाङ, किरण केसी, रविन्द्र झा लगायतको अभिनय छ भने साउथबाट ब्रह्मानन्दम, अलि, प्रदीप रावत र कबीर दुहान सिंहको मुख्य भूमिका छ ।
हरिहर अधिकारीको कथा लेखन रहेको चलचित्रलाई भारतीय छायांकार कवीरलालले खिचेका हुन् । उनले ‘वेलकम ब्याक’, ‘परदेश’, ‘दिल आपके पास है’ जस्ता दर्जनौं बलिउड चलचित्र खिचेका छन् । चलचित्रको नेपाल र भारतमा गरी तीन चरणमा छायांकन गरिएको थियो । चलचित्रमा मित्र डि गुरुङको सम्पादन अनि रामजी लामिछाने र बलिउडका शुष्मा सुमनको कोरियोग्राफी रहेको छ ।