रमेश एमके पौडेलद्वारा निर्देशित पहिलो चलचित्र ‘तिम्रो मेरो साथ’को ट्रेलर सार्वजनिक भएको छ । मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको ट्रेलरमा प्रेम र मित्रतामा विश्वासघातले उत्पन्न परिस्थितिलाई देखाइएको छ । २ मिनेट ५५ सेकेन्ड लम्बाईको ट्रेलरमा प्रेमिल र वियोगान्त संवादलाई विशेष स्थान दिइएको छ ।

अमेरिकामा फिल्म मेकिङको अध्ययन गरेका उनले आफ्नो निर्देशनबाट सन्तुष्ट रहेको बताए । कार्यक्रममा बोल्दै पौडेलले चलचित्र स्तरीय बनेको दाबी गरे । पौडेलले ‘रुद्रप्रिया’, ‘रज्जा रानी’लगायतका चलचित्र निर्माण गरेका छन। यही पुष २९ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रमा साम्राज्ञी राज्यलक्ष्मी शाह, पुष्प खड्का र सन्दीप क्षेत्रीको मुख्य भूमिका रहेको छ ।
चलचित्रमा खड्क बहादुर पुन (खबपु), इमिली लामा, सरोज खनाल, दिपाशा विसीलगायतको पनि अभिनय छ । यसअघि टिजरसँगै ‘रुमाल बाटेर टाई बनाम्’ र ‘जोश छ जवानीको’ गीत सार्वजनिक भइसकेका छन् । ‘मारुनी’पछि पुष्प र साम्राज्ञीले दोस्रो पटक एकसाथ काम गरेका हुन् । साम्राज्ञीले पुनः पुष्पसँग काम गर्दा पाउँदा रमाइलोका साथै सहज पनि भएको अनुभव साटिन् ।

चलचित्रमा निर्देशक पौडेल स्वयंको कथा, गीत र निर्माण छ । आर्यन फिल्मस र बोधी एचडी अमेरिकाको ब्यानरमा निर्मित चलचित्रको निर्मातामा पासाङ लामा र सह-निर्मातामा निरू भण्डारी, अशोक पोखरेल, सुमन पौडेल र सुधिर पराजुली रहेका छन् । कार्यकारी निर्माता सविर श्रेष्ठको पटकथा/संवाद रहेको चलचित्रमा शिव ढकालको छायांकन, योगेशकाजी शाह र सुभाष भुषालको संगीत छ ।