काठमाडौं । ‘दुई नम्बरी’का निर्माताले चलचित्रमा कुनै पनि दृश्य र संवाद नथपेको भन्दै चलचित्र विकास बोर्डलाई प्रष्टीकरण दिएका छन् । चलचित्रको ध्वनि र कलरमा देखिएको प्राविधिक त्रुटिलाई सच्याउने बाहेक अन्य कुनै पनि कार्य नगरेको निर्माता किरण नेपालीले बोर्डलाई बुझाएको स्पष्टीकरण पत्रमा उल्लेख छ।
नेपालीले कतिपय पत्रपत्रिका र अनलाइन सञ्चारमाध्यममा प्रकाशित समाचारलाई आधिकारिक नमानिदिन समेत आग्रह गरेका छन् । ‘आधिकारिक कुरा निर्माता किरण नेपाली र निर्देशक दीपेन्द्र लामाले आफ्नो फेसबुक पेजमा स्ट्याटस मार्फत उल्लेख गर्नुभएको छ । उक्त स्ट्याटसमा चलचित्रको लम्बाइ हेरफेर गरिएको कतै उल्लेख छैन । हामीले चलचित्रका ध्वनि र कलरमा देखिएका केही प्राविधिक त्रुटिलाई संशोधन गरेर तेस्रो हप्तादेखि हलमा पठाएका हौं । त्यसैलाई अडियो र भिडियो दुवै पक्षमा परिमार्जन गरिएको भनिएको हो,’ पत्रमा उल्लेख छ, ‘हामीले सेन्सर कपीमा नसमेटिएका दृश्य वा संवाद नयाँ संस्करणमा थपेका छैनौं । थपिएको पाइएमा कानुन बमोजिम कार्वाही भोग्न तयार छौं ।’
निर्माता नेपालीले फिल्मलाई अनावश्यक विषयमा स्पष्टीकरण सोध्ने बोर्डको कदम संविधानले दिएको अभिव्यक्ति स्वतन्त्रताविरुद्ध रहेको समेत बताएका छन् ।