आगामी बैशाख १ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘ए मेरो हजुर ४’ मा समावेश तिमी र म बोलको गीत रिलिज गरिएको छ । सार्वजनिक गीतमा प्रतिक पौडेलको शब्द तथा संगीत रहेको छ ।
उदय राज पौडेलको स्वर रहेको गीतमा ब्याक भोकलमा प्रश्ना शाक्यले साथ दिएकी छन् । रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतलाई गायक पौडेल स्वंयमले एरेञ्ज गरेका हुन् । चलचित्रको सार्वजनिक गीतमा चलचित्रका मुख्य कलाकार अनमोल केसी र सुहाना थापालाई फिचर्ड गरिएको छ । सार्वजनिक गीत अनमोल र सुहानाको माया, प्रेम र विछोडमा केन्द्रित छ ।
अभिनेत्री झरना थापा निर्देशित तेस्रो सिनेमा ‘ए मेरो हजुर ४’ मा अनमोल र सुहानाका अलवा सलोन बस्नेत, रवि गिरी, सरोज खनाल, लुनिभा तुलाधर, रक्षा गौतम लगायतका कलाकारहरुको पनि अभिनय छ । सुनिल कुमार थापाले निर्माण गरेको चलचित्रमा मित्र डि गुरुङको सम्पादन, रामजी लामिछाने र कविराज गहतराजको कोरियोग्राफी र हिमाल केसीको द्वन्द्व निर्देशन रहेको छ ।
चलचित्रको कथा निर्देशक तथा अभिनेत्री झरना थापाले लेखेकी हुन् । सुहाना इन्टरटेनमेन्ट र सुनिल कुमार थापा प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रको पटकथा र संवाद लेखनमा निर्देशक थापालाई स्व। निर्देशक छेतेन गुरुङ, मन्दिप गौतम, प्रतिक पौडेल, बाबुराम दाहाल, उपकार पाण्डे र माधव शर्माले सघाएका छन् ।