सुरज पाण्डेको डेब्यू निर्देशन रहने चलचित्र ‘परस्त्री’को शुभमुहूर्त गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । आइतबार ललितपुरको बंगलामुखी मन्दिरमा शुभमुहूर्त गर्दै आगामी कात्तिक ६ गतेलाई चलचित्रको प्रदर्शन मिति तोकिएको हो । चलचित्रको मुहूर्त र प्रदर्शन मिति घोषणा गरेपछि निर्माण टिम एक गीतको छायांकनका लागि मुस्ताङ प्रस्थान गरेको छ ।
मुस्ताङपछि चलचित्रको सम्पूर्ण छायांकन काठमाडौं आसपासमा हुने बताइएको छ । नेपाली र हिन्दी गरी दुई भाषामा निर्माण गरिने चलचित्रलाई डिएस डिजिटलको व्यानरमा निर्मात्री शर्मिला पाण्डेले निर्माण गर्नेछिन् । निर्देशक पाण्डे उनकै छोरा हुन् । चलचित्र ‘लभ लभ लभ’बाट सुरजले नायकको रुपमा डेब्यू गरेका थिए । अब उनले लाई ‘परस्त्री’बाट निर्देशनको रुपमा डेब्यू गर्न लागेका हुन् ।
यो चलचित्रमा कोशिश क्षेत्री, शिल्पा मास्के, गौरव बिष्ट, अलिसा क्षेत्री, अशान्त शर्मा लगायतका कलाकारहरु मुख्य भूमिकामा छन् । निरज पाण्डेको छायांकन रहने चलचित्रको कथा ‘आमा’ फेम्ड निर्देशक दीपेन्द्र के। खनालले तयार पारेका हुन् । निर्देशक पाण्डेले आफू र आफ्नो टिमले लामो समयदेखि चलचित्र प्रि-प्रोडक्सनको राम्रो तयारी गरेकाले चलचित्र राम्रो बन्ने विश्वास व्यक्त गरेका छन् ।