नेपाली निर्माताहरुको सधैं एउटा गुनासो हुने गर्छ- ‘हल व्यवसायी र वितरकले विदेशी फिल्मलाई काखा र नेपाली फिल्मलाई पाखा गरे ।’ हुन पनि, हलिउड र बलिउडका ठूला फिल्म रिलिज हुँदा नेपाली फिल्मलाई हल पाउनै मुश्किल हुन्थ्यो । यसले गर्दा पनि नेपाली निर्माताहरु विदेशी फिल्मसँग भिड्ने आँटै गर्दैनन् । अर्कोतिर, दर्शकको रोजाईमा पनि नेपाली फिल्म पर्ने गरेको छैन । विदेशी फिल्मको चेपुवामा नेपाली फिल्म पर्ने गरेको पनि एउटा ध्रुवसत्य कुरा के हो भने जब फिल्म क्षेत्रलाई अप्ठ्यारो पर्छ, तब विदेशी फिल्मकै भर गर्नुपर्ने अवस्था छ । अहिलेकै सिनारियो हेरौंन, बलिउडको एउटा ठूलो फिल्म आएर फिल्म क्षेत्र चलायमान नभएसम्म नेपाली निर्माता फिल्म रिलिज गर्नै तयार छैनन् । अर्थात्, नेपाली फिल्म नै चलाएर माहोल बनाउने सोच कसैमा छैन । गत महिना काठमाडौंसहितका जिल्ला प्रशासन कार्यालयले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर सिनेमा हल खोल्न अनुमति दियो । तर, निर्माताहरु करोडौंको लगानीमाथि एक्लै जोखिम नउठाउने भन्दै हल व्यवसायी र वितरकसँग मोटो ‘एमजी’ मागिरहेका छन् । केही निर्माताहरु भने तत्काल जोखिम मोल्नेभन्दा पनि विदेशी फिल्म चलाएर सिनेमा हलसम्म दर्शक ल्याउनु पर्ने बताउँछन् । नेपाली फिल्म क्षेत्र चलायमान बनाउन बलिउड फिल्मको प्रतिक्षा भइरहेको समयमा शनिवार रोहित सेट्टीले फिल्म ‘सूर्यवंशी’ को प्रदर्शन मिति घोषणा गरे । तिहारमा फिल्म संसारभर प्रदर्शनमा आउनेछ । अक्षय कुमार, अजय देवगन, रणवीर सिंह, कटरीना कैफ जस्ता बलिउड सुपरस्टारहरुले एकसाथ अभिनय गरेको यो फिल्मको नेपालमा समेत लामो समयदेखि प्रतिक्षा भइरहेको छ । तिहारमा ‘सूर्यवंशी’ रिलिज हुने भएपछि बलिउडमा जुन प्रकारको उत्साह छाएको छ, नेपालका फिल्मकर्मीहरु पनि कम दंग छैनन् । वितरक तथा निर्माता सुशील पोखरेलले अब नेपाली फिल्म क्षेत्र चलायमान हुने विश्वास व्यक्त गरेका छन् । जबकि, अरु बेला उनी बलिउड फिल्मका विरोधी हुन् । नेपाली फिल्मको माहोल बनाउन विदेशी फिल्म कुर्नुपर्ने यो जति लाजमर्दो अरु के होला र !