ब्लकबस्टर फिल्म ‘छ माया छपक्कै’ मा पहिलो पटक दीपकराज गिरी र दीपाश्री निरौलाको ‘छक्का पञ्जा’ टिमसँग सहकार्य गरेका निर्माता रोहित अधिकारी फेरि यही टिमसँँग सहकार्य गरेर नयाँ फिल्म बनाउने तयारीमा छन् । अहिले दुईवटा फिल्मको स्क्रिप्टमा काम भइरहेको छ, जसमध्ये एउटा फिल्मको नाम ‘कालो कोट’ हो । यो फिल्मको स्क्रिप्टलाई प्रदीप भारद्वाजले लेखिरहेका छन् । निर्माता अधिकारीले फिल्मको कथा राम्रो भएकाले अहिले स्क्रिनप्लेमा काम भइरहेको बताए । उनले भने- ‘कथा हामीलाई एकदमै राम्रो लागेको छ । स्क्रिनप्ले (पटकथा) पनि सोचेको जस्तो निस्कियो भने फिल्म बन्छ ।’ लेखक भारद्वाजले कथासँग मिल्ने गरी फिल्मको नाम ‘कालो कोट’ जुराएका हुन् । तर, ‘छक्का पञ्जा’ टिमलाई फापेको ‘छ’ नामबाटै फिल्मको नाम राख्न खोजिएको छ । फिल्मलाई कसले निर्देशन गर्ने भन्ने टुंगो नभइसके पनि ‘झ्यानाकुटी’ निर्देशक सिमोस सुनुवारको पल्ला भारी छ । धेरै पहिलादेखि दीपक-दीपाको समुहसँग सहकार्य गरेर सिमोसले फिल्म बनाउन लागेको चर्चा चलेको थियो । उनी अभिनेता अनमोल केसीलाई लिएर फिल्म ‘पारस’ को पनि निर्देशन गर्ने तयारीमा छन् । ‘कालो कोट’ वकिलहरुको कथामा निर्माण हुने स्रोतले बताएको छ । फिल्ममा ‘छक्का पञ्जा’ समुहका कलाकारहरुको नै अभिनय रहनेछ तर जितु नेपालबाहेक । गत वर्ष ‘महानायक’ विवादका कारण ‘मुन्द्रको कमेडी क्लब’ को अध्यक्षबाट दीपश्रीलाई हटाइएपछि जितुसँँग यो टिमको सम्बन्ध बिग्रिएको छ । स्क्रिनप्ले ‘लक’ भएपछि फिल्ममा भिलेनको भूमिकामा सौगात मल्ललाई लिने सोचमा निर्माण टिम छ । त्यस्तै, फिल्ममा तीन जना अभिनेत्रीहरु रहनेछन् ।
रोहित र दीपक-दीपाको ‘कालो कोट’ मा सौगात भिलेन !


