नेपालगन्ज-ललितपुरको कुसुन्तीमा सन् १९९२ (२०४८) मार्च १० मा माता सारदा खड्का र पिता टेक बहादुर खड्काको कोखबाट जन्मिएका प्रदिप खड्का आज एक सफल अभिनेताको रुपमा पारीचित छन् । २०७२ सालको विनाशकारी भूकम्प धेरै नेपालीका लागि कष्टकर र दुःखदायी बन्यो । कयौंको ज्यान गयो, कयौं बेघर भए समय यस्तो थियोकि फेरी त्यस्तो अवस्था कसैले कल्पना पनि गर्न नपरोस । अचम्म तर सत्य प्रदीप खड्काका लागि भूकम्प एउटा बलियो अवसर बनेर आयो । प्रदिप आफैले अभिनय र निर्माण गरेको पहिलो चलचित्र ‘स्केप’ र निर्माता रहेको चलचित्र ‘ठूलो मान्छे’ असफल भएर पानी पनि भन्न नपाए पछी निराश भएर उनले अष्ट्रेलिया जान कन्सल्टेन्सीमा आफ्नो पासपोर्ट समेत बुझाइसकेका थिए । उनै, प्रदीप बुधवारबाट २९ वर्षमा प्रवेश गरेका छन् ।
ढुङ्गा खोज्दा देउता भेटियो भने जस्तै, त्यही बेला निर्देशक सुदर्शन थापा र निर्माता सन्तोष सेन चलचित्र ‘प्रेमगीत’ का लागि हिरोको खोजीमा थिए । यसै क्रममा उनीहरुको नजर प्रदीपमा पर्यो । कथाले मागेको पात्रमा उनी फिट हुने देखेपछि लिड हिरोमा साइन गराए । अष्ट्रेलिया जान सुटकेस प्याक गरिसकेका प्रदीपले परिवारसँग एक मौका माग्दै ‘प्रेमगीत’ मा काम गरे अन्ततः यसले उनको भाग्य नै बदल्यो । सन् २०१६ मा चलचित्र रिलिज भयो । दर्शक र समीक्षकले चलचित्रको कथावस्तु, प्रस्तुती र प्रदीपको अभिनयको प्रशंसा गरे । यसपछि प्रदीपको अष्ट्रेलिया जाने बाटो मोडियो र नेपाली चलचित्रको स्टारको रुपमा उदाए । उनी नेपाली चलचित्र क्षेत्रका पढेलेखेका कलाकारमध्ये एक मानिन्छन् । उनले सिक्किम मनिपाल युनिभर्सिटिबाट सम्बन्धन प्राप्त लर्ड बुद्ध फाउन्डेसनबाट सन् २०१७ मा मार्केटिङमा मास्टर्स गरेका थिए । आज उनी नेपाली फिल्मका महंगा अभिनेतामा गनिन्छन् ।
‘प्रेमगीत’ पछि यसकै दोस्रो सिरिजमा काम गरेका उनले ‘लिलिबिली, रोज, लभ स्टेशन’ आदी चलचित्रमा अभिनय गरिसकेका छन् । उनी अभिनीत ‘प्रेमगीत ३’ प्रदर्शनको पखाईमा छ भने चाँडै चलचित्र ‘प्रकाश’ को छायांकनमा व्यस्त हुँदैछन् । उनले ‘हुतुतु’ र हेमराज विसीको चलचित्र पनि साइन गरेर बसेका छन् । केही वर्षयता उनलाई आफ्नो चलचित्रमा लिन निर्माताबीच हानाथाप हुने गरेको चर्चा हामी बेला बखत सुनिरहेका हुँछौ ।