‘यो केवल वृत्तचित्रमात्रै होइन । देश चिनाउने हाम्रो अठोट हो,’ पत्रकार प्रेम बानियाँले भने, ‘समुद्री सतहबाट ५८ मिटरमा रहेको कचनकवललाई खनेर समुद्री सतह बराबर बनाउन सकिन्छ र त्यहाँ एउटा गाउँ बसाल्न सकिन्छ, जहाँबाट सगरमाथासम्मको यात्रा गर्न सकिन्छ भन्ने अवधारणा हामीले यसमार्फत अघि सारेका छौं । नेपालका लागि यो इतिहासको एक गौरव क्षण हो र संसारकै लागि एउटा रोचक नयाँ अध्ययाको आरम्भ हो । यो अवधारणालाई पूरा गर्ने हाम्रो लक्ष्य छ ।’
‘मानिसको जीवन पनि जिरोबाट सुरु हुन्छ र बिस्तारै बाल्यकाल, किशोरावस्था, वयस्क हुँदै अघि बढ्छ । यो यात्रा मानव जीवनको एउटा यात्राको संकेत पनि हो ।’ झन्डै ५ सय १० किलोमिटर दूरीको पदयात्रा पूरा गर्न झन्डै ९० दिन लागेको पनि उनले बताए । निर्देशक निरञ्जन पाण्डेले देशका लागि केही गरौं भन्ने हुटहुटीले वृत्तचित्र निर्माणमा प्रेरित गरेको बताए ।
‘हामी लामो समय नेपालको सिर्जनात्म क्षेत्रमा काम गरेर हाल अमेरिकामा बस्ने साथीहरुले देशका लागि मिलेर केही गरौं भनेर लामो समयदेखि सोचेका थियौं । त्यसक्रममा देशलाई चिनाउनेगरी यो अवधारणा अघि सार्न सफल भयौं । टेण्डी शेर्पा, पुस्कार शाहलगायत व्यक्तित्व हामीसँग जोडिनुभयो । अब यस वृत्तचित्रलाई अमेरिकाका सबै राज्यमा लगेर देखाउने, त्यसपछि युरोप र अष्ट्रेलिया तथा एशियाका अन्य देशमा देखाएर नेपालका हलहरुमा सार्वजनिक गर्ने हाम्रो सोच छ । यसलाई हामीले देश चिनाउने माध्यमका रुपमा सोचेका छौं । विश्वमा कहीँ संभवन नभएको एक मात्र जिरो टु ८८४८ को अवधारणा ल्याउन सफल भएका छौं । यस पदमार्गलई विकास गर्न सके हाम्रो देशको पर्यटन फस्टाउनेछ र देशलाई विश्वभर चिनाउन सकिनेछ र समृद्धीको एउटा आधार खडा हुनेछ,’ उनले भने ।
जलवायु परिवर्तन अध्ययनका लागि पनि यस गन्तव्य विशिष्ट हुने उनले बताए । त्यस्तै भूगर्भ पर्यटनको अध्ययन केन्द्र समेत बन्नसक्ने धारणा राखे । वृत्तचित्रलाई निर्देशकद्वय निरन्जन पाण्डे र बलराम बुढाथोकीले मिलेर सम्पादन तथा छायाँकन गरेका हुन् ।




