Close sidebar

अन्ततः सेन्सरबाट पास भयो ‘राजागंज’

फाल्गुन २९, २०८१

आगामी चैत १ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘राजागंज’ अन्ततः सेन्सर पास भएको छ । सोमबार सेन्सर बोर्डले केही दृश्य र शब्दमा आपत्ति जनाउँदै प्रदर्शन अनुमति नदिएपछि बुधबार दिउँसो निर्माता पुनः सेन्सरका लागि पुगेका थिए । बोर्डले राखेका सबै सर्तहरु मान्न तयार भएपछि चलचित्रले सबै उमेरका दर्शकले हेर्न मिल्ने गरी ‘युनिभर्सल सर्टिफिकेट’ प्राप्त गरेको छ ।

बोर्डले २०७२ सालमा एमालेको अध्यक्षको रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान सभाबाट बाहिरिने दलहरूलाई ‘झरेका आँप’को संज्ञा दिएको दृश्य चलचित्रमा समेटेकोमा आपत्ति जनाउँदै सच्चाएर ल्याउन वा प्रधानमन्त्री कार्यालयबाट अनुमतिसहितको पत्र लिएर आउन निर्देशन दिएको थियो । अन्य केही शब्दमा पनि बोर्डले आपत्ति जनाएको थियो । अब चलचित्रमा प्रधानमन्त्रीको भाषण हटाइने र अन्य केही शब्दमा म्युट गरिने भएको छ ।

सेन्सर पास नभएसम्म देशभित्र चलचित्र प्रदर्शन गर्न नपाइने व्यवस्था छ । तर, ‘राजागंज’को सेन्सर नहुँदै विर्तामोड, इटहरी, चितवन जस्ता सहरमा प्रिमियर गरिएको थियो । अब सेन्सर पास भइसकेकाले चलचित्र तोकिएको समयमै प्रदर्शन हुने भएको छ ।

दीपक रौनियार निर्देशित चलचित्रमा आशा मगराती, दयाहाङ राई, ऋचा शर्मा, पशुपति राई, विजय बराल, गौमाया गुरुङ, निकिता चाण्डक, पुष्पा यादव, आरती मण्डल, घनश्याम मिश्र, परमेश्वर कुमार झा, नीरज श्रेष्ठ लगायतको अभिनय रहेको छ । चलचित्रले अपहरणमा परेका सभासद् र विद्यालयकी प्रधानध्यापकका छोरालाई मुक्त गराउन प्रहरीले चालेको खोजी अप्रेसनको कथा भन्छ ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया