Close sidebar

पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने लक्ष्यसहित बडीमालिकाबाट सुरु हुँदै ‘ए मेरो हजुर ५’को छायांकन

साउन १८, २०८३
अभिनेत्री तथा निर्देशक झरना थापाले सिनेमा ‘ए मेरो हजुर ५’को छायांकन सुरु गर्न लागेको बताएकी छन् । सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस् लेख्दै उनले यही साउन २९ देखि सिनेमाको छायांकन सुरु गरिने जानकारी दिएकी हुन् । सिनेमा सञ्जय लामाले खिच्नेछन् ।

सिनेमाको छायांकन बाजुरास्थित बडीमालिका मन्दिरबाट सुरु गर्न लागेको उनले बताएकी छन् । बडीमालिकाको चर्चा गर्दै उनले लेखेकी छन्, ‘नेपालको अनुपम प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र सांस्कृतिक गौरवको धरोहर बडीमालिकाबाट मेरो नयाँ सिनेमा ए मेरो हजुर ५ को छायांकन यात्रा यही साउन २९ गतेदेखि शुभारम्भ हुँदैछ ।’

निर्देशक थापाले बडीमालिकाजस्तो धार्मिक धरोहरबाट सिनेमाको यात्रा सुरु गर्न पाउँदा आफूहरू गौरवान्वित भएको उल्लेख गरेकी छन् ।    उनले बडीमालिका धार्मिक तीर्थस्थल मात्र नभई नेपालको पर्यटन र राष्ट्रिय पहिचानको अमूल्य सम्पदा पनि भएको बताएकी छन्। उनले लेखेकी छन्, ‘हिमाल, संस्कृति, सभ्यता र श्रद्धाको अद्भुत संगम रहेको बडीमालिका केवल एक धार्मिक तीर्थस्थल मात्र होइन, नेपालको पर्यटन र राष्ट्रिय पहिचानको अमूल्य सम्पदा पनि हो।’

साथै प्रधानमन्त्री बालेन्द्र शाहले समेत बडीमालिकालाई सुदूरपश्चिमको गौरव र नेपालको पर्यटन विकासको महत्त्वपूर्ण आधारका रूपमा उल्लेख गर्दै यसको प्रचार-प्रसारमा विशेष जोड दिएको प्रसंग पनि स्मरण गरेकी छन् ।

उनले  नेपाली प्रकृति, संस्कृति र भावनालाई अझ व्यापक रूपमा दर्शकमाझ पुर्‍याउने उद्देश्यले ‘ए मेरो हजुर ५’ बनाउन लागेको खुलासा पनि गरेकी छन् । सिनेमाले नेपालीपनलाई सिनेमामा नयाँ ढंगले प्रस्तुत गर्ने उनले विश्वास व्यक्त गरेकी छन् ।

सिनेमा झरनाकाे निर्देशनमा बन्नेछ । सिनेमामा कलाकारको रूपमा अभिनेत्री सुहाना थापा र अभिनेता अनमोल केसी मुख्य भूमिकाका जोडिएका छन् । यसबाहेक अन्य कलाकार गोप्य राखिएको छ । सुहाना इन्टरटेनमेन्टको ब्यानरमा बन्ने सिनेमाका निर्माता सुनिलकुमार थापा हुन् ।

सिनेमामा अभिनेत्री सुहाना र अभिनेता अनमोलले तेस्रो पटक सहकार्य गर्दैछन् ।  यसअघि उनीहरूले  ‘ए मेरो हजुर ३’ र ‘ए मेरो हजुर ४’ एकसाथ अभिनय गरेका थिए । उनीहरूको जोडीलाई दर्शकले निकै रुचाएका थिए ।

‘ए मेरो हजुर’ शृंखलाका अघिल्ला चारै संस्करण बक्स अफिसमा सुपरहिट बनेको थियो ।  स्वर्गीय शिव रेग्मी निर्देशित ‘ए मेरो हजुर’ को दोस्रो सिक्वेलबाट झरनाले निर्देशन थालेकी हुन् ।

स्वर्गीय निर्देशक शिव रेग्मीले निर्देशन गरेको ‘ए मेरो हजुर’ पछि यसको दोस्रो शृंखलाबाट झरना थापाले निर्देशनको जिम्मेवारी सम्हालेकी हुन् । त्यसयता ‘ए मेरो हजुर’ शृंखलाका बाँकी संस्करण झरनाले नै निर्देशन गर्दै आएकी छन्।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया