आर्या इन्टरटेनमेन्ट प्रा.लि.का तर्फबाट निर्देशक चन्द्र पन्त र आशिष इन्टरटेनमेन्टको टोलीबीच यससम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो। यो सम्झौतासँगै मध्यपूर्वको वितरण अधिकार ‘सोल्ड आउट’ भएको छ।
यसअघि नै यो चलचित्रको प्रदर्शन अधिकार जापानका लागि ‘आर एन्ड बी इन्टरटेनमेन्ट’ तथा अमेरिका र क्यानडाका लागि ‘डोको फिल्म्स’ ले महँगो रकममा खरिद गरिसकेका छन्।
आर्या इन्टरटेनमेन्ट प्रा.लि.को ब्यानरमा निर्माण भएको यस चलचित्रमा पल शाह, मलिका महत, विपना थापा,प्रदीप रावत,आकाश श्रेष्ठ, रिस्ता गुरुङ, निकिता आचार्य, सबिन श्रेष्ठ, विपना थापा, प्रदीप रावत, साइग्रेस पोखरेल, गजित बिष्ट,नरेन खड्का लगायतको को मुख्य भूमिका रहेको छ।
वैदेशिक रोजगारीका कारण टाढिएका सन्तान र उनीहरूको प्रतीक्षामा जीवन बिताइरहेकी आमाको भावनालाई केन्द्रमा राखिएको यो चलचित्रले यसपटक पनि दर्शकको मन छुने अपेक्षा गरिएको छ। ‘आउँछु भन्ने एउटा झुटो आशामा आमाले वर्षौँदेखि जमरा छरिरहेकी हुन्छिन्’ भन्ने भावनात्मक संवादले कथावस्तुप्रति थप उत्सुकता जगाएको छ।
प्रदर्शनमा आउनु अगावै वितरण अधिकार (डिस्ट्रिब्युसन राइट्स) बिक्री हुनुले चलचित्रको माग उच्च रहेको देखाउँछ। निर्देशक पन्तकै लेखन र पटकथा रहेको यस चलचित्रका मुख्य व्यवस्थापक (प्रोडक्सन म्यानेजर) करणसिंह रसाली हुन्।
आगामी असोज ३० गतेदेखि प्रदर्शनमा आउन लागेको यो चलचित्रलाई लिएर निर्माण पक्ष निकै उत्साहित छ। ‘दशैँको जमरा र आमाको पर्खाइको कथा’ नारा (स्लोगन) राखिएको यस चलचित्र पारिवारिक एवं भावनात्मक कथावस्तुमा आधारित छ। नेपालमा यस चलचित्रको वितरण ‘आरआर फिल्म्स’ ले गर्दै छ भने डिजिटल अधिकार ‘ओएसआर डिजिटल’ ले लिएको छ।
चन्द्र पन्तकै निर्देशन तथा निर्माणमा बनेको पहिलो भाग ‘आ बाट आमा’ले घरेलु बक्स अफिसमा १३ करोड भन्दामाथीको व्यापार गरेको थियो। जुन चलचित्र विकासvबोर्डले आफ्नो २६ वार्षिक उत्सवमा सर्वाधिक कमाउने सुचिमा राखेको छ।



