Close sidebar

दश हजार दर्शकमाझ ‘कुमारी’को ट्रेलर सार्वजनिक

माघ १२, २०८२

माघ २३ गते रिलिज हुने वर्षकै प्रतीक्षित नेपाली प्रेम कथानक चलचित्र ‘कुमारी’को बहु प्रतीक्षित ट्रेलर राजधानी काठमाडौंको भृकुटीमण्डपस्थित खुला स्थानमा भव्य कार्यक्रमबीच सार्वजनिक गरिएको छ। अनुमानित दश हजारभन्दा बढी दर्शकको प्रत्यक्ष उपस्थितिमा सम्पन्न यो कार्यक्रम नेपाली चलचित्रको इतिहासमै ट्रेलर सार्वजनिकतर्फको अभूतपूर्व र ऐतिहासिक घटना बनेको छ।

खुला आकाशमुनि हजारौँ दर्शक साक्षी राख्दै प्रत्यक्ष रूपमा ट्रेलर रिलिज हुनु आफूले देखेको सपना पूरा भएको प्रतिक्रिया निर्देशक दिनेश राउतले व्यक्त गरे। उनले यति ठुलो सङ्ख्यामा उपस्थित दर्शकको उत्साह अब सिनेमा घरसम्म पनि पुग्ने विश्वास व्यक्त गरे। निर्माता महेन्द्र अधिकारीले दर्शकले दिएको मायाले आफूलाई निरन्तर नेपाली चलचित्रमा सक्रिय रहन थप प्रतिबद्ध बनाएको बताए।

ट्रेलर सार्वजनिक कार्यक्रममा चलचित्रका पार्श्व गायक केहर सिं लिम्बु र उनको ब्यान्ड ‘केहर एन्ड द लुङा’को विशेष प्रस्तुति रहेको थियो। साथै लोकप्रिय ब्यान्ड ‘इस्त्रीज’ र ‘त्रिजा प्रदान एन्ड द टुकुचा’ले पनि दर्शकलाई साङ्गीतिक प्रस्तुतिमार्फत झुमाएका थिए। साङ्गीतिक कन्सर्ट र चलचित्र प्रचारको संयोजनले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।

यही चलचित्रबाट डेब्यु गरेका मुख्य कलाकारहरू अबिषेक खड्का र आकृति राजभण्डारीले हजारौँ दर्शकसँग प्रत्यक्ष साक्षात्कार गर्दै आफूहरूलाई दर्शकले दिएको स्वागतले अत्यन्तै पुलकित बनाएको बताए। दर्शकको उत्साह र तालीले उनीहरू भावुक देखिएका थिए।

सार्वजनिक ट्रेलरले एक संवेदनशील र रोमाञ्चक प्रेमकथाको झलक प्रस्तुत गर्छ। प्रेमलाई केन्द्रमा राख्दै पारिवारिक सम्बन्ध, रोमान्स र मनोवैज्ञानिक अन्तर्द्वन्द्वहरूलाई ट्रेलरले प्रभावशाली ढङ्गले उजागर गरेको छ। दुई पात्रबीचको प्रेम, सङ्घर्ष र जीवनका भावनात्मक मोडहरू दृश्यहरू मार्फत गहिरो रूपमा व्यक्त गरिएको छ।

ट्रेलरमा देखिने पुरुष पात्र (अबिषेक खड्का) संवेदनशील, रिसाहा र परिस्थितिले थिचिएको युवक देखिन्छ। संवादभन्दा बढी हाउभाउ, आँखाको भाव र मौन अभिनयमार्फत प्रेमभित्रको असहायपनलाई सशक्त रूपमा प्रस्तुत गरिएको छ। ऊ प्रेममा पूर्ण समर्पित छ, तर समाज र परिस्थितिसँग निरन्तर सङ्घर्ष गरिरहेको सङ्केत ट्रेलरले दिन्छ।

त्यसै गरी महिला पात्र (आकृति राजभण्डारी) केवल प्रेमिका मात्र नभई आत्मसम्मान, मौन विद्रोह र भावनात्मक साहसको प्रतीकका रूपमा उभिएकी देखिन्छिन्। उनको आँखामा देखिने डर, मौनतामा लुकेको पीडा र निर्णयका क्षणमा देखिने कठोरताले पात्रलाई अझ बलियो बनाएको छ। ट्रेलरले चलचित्र ‘हेर्नु मात्र होइन, महसुस गर्नुपर्ने कथा’ भएको अनुभूति गराउँछ।

कलाकारहरूको अभिनय, सङ्गीत, सिनेमाटोग्राफी र संवाद ट्रेलरमै उत्कृष्ट देखिएका छन्। दृश्य संयोजनले कथा र भावनालाई आकर्षक तरिकाले प्रस्तुत गर्दै दर्शकमा उत्साह र आशा जगाएको छ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया