Close sidebar

चलचित्र ‘रोल नं. १’ को पहिलो चरणको छायांकन सम्पन्न

पुस २९, २०८२
सेभेन सिज सिनेमाको प्रस्तुतिमा निर्माण भइरहेको चलचित्र ‘रोल नं. १’ को पहिलो चरणको छायांकन सम्पन्न भएको छ ।

म्याग्दीका विभिन्न रमणीय तथा ग्रामीण भेगमा करिब डेढ महिना (४२ दिन) लगाएर चलचित्रको मुख्य हिस्सा खिचिएको हो ।

दुई साताको ‘वर्कसप’पछि गत मंसिर १५ गतेदेखि म्याग्दीबाट सुरु भएको चलचित्रको छायांकन तालिका ४५ दिनको तय गरिएको थियो । तर, प्रतिकूल मौसम र प्राविधिक चुनौतीका बाबजुद निर्धारित समयकै आसपासमा पहिलो चरणको काम सकिएको निर्माता विनोद पौडेलले जानकारी दिए ।

निर्माता पौडेलका अनुसार हिमाली जिल्ला म्याग्दीको अत्यधिक चिसोले छायांकन टोलीलाई निकै सास्ती दियो ।

पौडेल भन्छन्, “हामी ४५ दिनको तालिका लिएर निस्केका थियौं, ४२ दिनमा म्याग्दीको सेड्युल सक्यौं । कलाकारहरूलाई भन्दा पनि प्राविधिक टोलीलाई चिसोले बढी गाह्रो बनायो । विशेषगरी रात्रिकालीन दृश्यहरू खिच्दा १० बजेपछि तापक्रम निकै घट्ने भएकाले काम गर्न कठिन हुन्थ्यो ।”

“सिनेमा उत्कृष्ट बनाउन हामीले कुनै सम्झौता गरेनौं, केही दिन आराम गरेर बाँकी काम सुरु गर्नेछौं,” पौडेलले थपे ।

केही दिनको आरामपछि काठमाडौँका बाँकी दृश्य पनि चाँडै नै खिचिने निर्माता पौडेलले बताएका छन् ।

जोन योञ्जनको निर्देशन तथा कथामा तयार भइरहेको यो चलचित्र पूर्ण रूपमा ‘बाल मनोविज्ञान’ मा आधारित छ । चलचित्रको कथा विद्यार्थीहरूमा देखिने सामाजिक दबाब, झूटो प्रतिष्ठा र ‘जित्नैपर्ने’ मानसिकताको प्रभाव वरिपरि केन्द्रित रहेको संकेत गरिएको छ ।

गत वर्ष सार्वजनिक गरिएको चलचित्रको ‘फर्स्टलुक’ पोस्टरमा पनि एउटा बालकले कक्षाकोठामा हात उठाएर आफ्नो उपस्थिति जनाइरहेको मार्मिक दृश्य देखाइएको थियो, जसले धेरैको ध्यान खिचेको थियो ।

चलचित्रको मुख्य भूमिकामा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारी र निर्भिक रेग्मी रहेका छन् ।

बाल शिक्षा र मनोविज्ञानको गम्भीर विषयलाई व्यावसायिक सिनेमाको ढाँचामा प्रस्तुत गर्न लागिएको ‘रोल नं. १’ लाई अर्थपूर्ण चलचित्रका रूपमा हेरिएको छ ।

चलचित्रको प्रदर्शन मिति तय गरिएको छैन । छायाकंन सकेर पोस्टको काम सबै सकिएपछि मात्रै रिलिज मिति घोषणा गर्ने पक्षमा निर्माण टिम रहेको छ ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया