Close sidebar

चलचित्र ‘धागो’ नेपाल-भारतमा एकसाथ रिलिज

कार्तिक २९, २०८२

भारतको डुवर्स क्षेत्रमा छायाङ्कन गरिएको नेपाली चलचित्र ‘धागो’ आज नेपाल र भारतका सिनेमा घरहरूमा एकसाथ रिलिज भएको छ। उदिप राणा थापाको निर्देशनमा बनेको यो चलचित्रले नेपाल-भारत सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपाली परिवारहरूको भावनात्मक जीवन, आर्थिक चुनौती र सामाजिक यथार्थलाई कथाको केन्द्रमा राखेर प्रस्तुत गरेको छ।

चलचित्रमा परिवारभित्रको सम्बन्ध, आर्थिक अभावका कारण उत्पन्न हुने दैनिक समस्या, सामाजिक दबाब र विषम परिस्थितिका बीच पनि अभिभावकले सन्तानका सपनाका लागि गर्ने निरन्तर प्रयासलाई मार्मिक रूपमा चित्रण गर्छ। सङ्घर्ष, बिछोड र परिवारमा देखा पर्ने मनोवैज्ञानिक उतार-चढावका बीच केही हल्का हास्य तत्त्व पनि समावेश गरिएकोले कथा गम्भीर भए पनि दर्शकलाई जोडेर राख्छ।

‘धागो’ भारतका पहाडी क्षेत्र, सिलीगुडी, दार्जीलिङ, गान्तोक, कालिम्पोङ, कुरसाङ, डुवर्स जस्ता नेपाली भाषी दर्शक धेरै बसोबास गर्ने क्षेत्रहरूमा रिलिज भएको छ। भारतका यी क्षेत्रहरूमा नेपाली चलचित्रको दर्शक वर्ग बलियो रहेकोले ‘धागो’ ले उल्लेख्य ओपेनिङ पाउने अपेक्षा गरिएको छ। यस्तै, नेपालमा क्युएफएक्स सिनेमा, वन सिनेमा, आईएनआई सिनेमा लगायत देशभरका हलमा रिलिज भएको छ।

‘धागो’ मा अभिनेत्री सुरक्षा पन्तले प्रमुख भूमिका निर्वाह गरेकी छन्। साथै प्रभात थापा, सुरभि थापा, बुद्धि तामाङ, सुनिल थापा लगायतका कलाकारले साथ दिएका छन्। अभिनेत्री वर्षा राउत विशेष केमियो भूमिकामा देखिएकी छन्। चलचित्रको छायाङ्कन निर्देशन बलिउडका अनिकेर एम. घोघले गरेका हुन्।

फिल्म म्याग्नेट इन्टरटेन्मेन्ट प्रोडक्शन हाउसद्वारा निर्माण गरिएको यस चलचित्रमा उमा थापा, उत्तम थापा र उदिप थापा निर्माताको भूमिकामा छन्। नेपालमा आरआर फिल्म्सले वितरण गरिरहेको छ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया