Close sidebar

चलचित्र ‘सोल्टिनी’को नयाँ गीत ‘नौलाख तारा’ सार्वजनिक

अशोज २४, २०८२

कार्तिक ६ गते भाइटिकाको दिन रिलिज हुने नेपाली चलचित्र ‘सोल्टिनी’ले आफ्नो नयाँ गीत ‘नौलाख तारा’ सार्वजनिक गरेको छ। यो गीत लिरिकल शैलीमा तयार गरिएको छ, जसमा शब्द, सङ्गीत र स्वरको माधुर्यसँगै चलचित्रको भावनात्मक कथावस्तु झल्किन्छ।

गीतमा झुमा लिम्बु, सुनिता थेगिम र प्रशान्त सिवाकोटीको स्वर रहेको छ। गीतका शब्द र सङ्गीत निर्देशन पनि प्रशान्त सिवाकोटीकै हुन् भने सङ्गीत संयोजन देवेश राईले गरेका हुन्।

‘नौलाख तारा’मा प्रयोग गरिएका भिजुअल र तस्बिरहरूले चलचित्रका मुख्य पात्र प्रकाश सपुत र परीक्षा लिम्बुबीचको प्रेममा देखा परेका पारिवारिक तथा सामाजिक अड्चनलाई प्रस्तुत गर्छन्। गीतको लिरिकल भिडियोमा पनि ती भावनात्मक उतार–चढाव स्पष्ट देखिन्छ, जसले चलचित्रको मूल कथावस्तुसँग प्रत्यक्ष सम्बन्ध जोड्छ।

‘सोल्टिनी’लाई अर्जुन सुवेदीले निर्देशन गरेका हुन्। प्रकाश सपुत र परीक्षा लिम्बुका साथमा सुन्दर धिताल, सब्बु गुरुङ, सुजन खतिवडा, विल्सन विक्रम राई, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा र कविता आलेलगायत कलाकारको अभिनय रहेको छ।

यस चलचित्रमा धरानका मेयर हर्क साम्पाङ नेतृत्वको ‘हर्क साम्पाङ रिभोलुसन एन्ड द टिम’कार्यकारी निर्माताका रूपमा संलग्न रहेको छ। इलाम, कन्याम, बिर्तामोड, पथरी र भोजपुरलगायतका रमणीय स्थलमा छायाङ्कन गरिएको ‘सोल्टिनी’ले समाजमा विद्यमान जातीय भेदभाव, अमानवीयता र प्रेममा आउने सामाजिक अड्चनविरुद्धको आवाज उठाउने उद्देश्य लिएको निर्देशक सुवेदीले बताए।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया