धनगढी, २ जेष्ठ / २६औँ वार्षिकोत्सव तथा चलचित्र पत्रकारिता दिवस २०८२ धनगढीमा मनाइएको छ । चलचित्र पत्रकार संघ नेपाल, कैलालीको आयोजनामा “सुदूरपश्चिमको भाषा, कला, साहित्य, पर्यटन र चलचित्र क्षेत्रको विकासमा सरोकारवालासँग अन्तरक्रिया” भन्ने मूल बिषयका साथ कलाकार पत्रकारको उपस्थितिमा सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काले सुदूरपश्चिमका ९ वटै जिल्लाको संस्कृति बचाउन राज्य गम्भीर हुनुपर्ने बताइन्। उनले कलाकार र संस्कृति क्षेत्रमा बजेट विनियोजन गर्नुपर्नेमा जोड दिँदै पत्रकारिता नै अहिलेको सबैभन्दा विश्वासिलो क्षेत्र भएको उल्लेख गरिन्। साथै, पत्रकारहरूलाई हुने दवाब, अपमान र हिंसाप्रति चिन्ता व्यक्त गर्दै निष्पक्ष पत्रकारिताको आवश्यकता औँल्याइन्।
प्रज्ञा प्रतिष्ठानका उपकुलपति तथा कार्यक्रमका विशिष्ट अतिथि टी एन। जोशीले प्रतिष्ठानको बजेट सिलिङ घटाइएको छ । आफुहरु चलचित्र महोत्सव आयोजना गर्ने तयारीमा रहेको बताए। साथै यावत चुनौतीका बीच पनि संस्थाले निरन्तर काम गरिरहेको जानकारी दिए।
यस्तै विशिष्ट अतिथि रहेका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख बाल नरसिंह राणाले आफू कैलाली आए पश्चात कैलालीका थुप्रै रमणीय पर्यटकीय ठाउँहरू रहेको र चलचित्रका लागि उपयुक्त ठाउँ रहेकोमा जोड दिए, कलाकारहरूलाई छायाङ्कन गर्दा सहज वातावरण गरिदिने उनको भनाइ रहेको छ।
यस्तै चलचित्र पत्रकार संघ नेपाल, कैलालीका अध्यक्ष पुष्पराज जोशीले सुदूरपश्चिममा प्रदेशस्तरीय चलचित्र विकास बोर्ड गठनको आवश्यकता रहेको बताए। कलाकारहरूको संगठन विना चलचित्र पत्रकार संघको अर्थ नरहने उल्लेख गर्दै अन्य प्रदेशमा गठन भएको चलचित्र बोर्ड सुदूरपश्चिममा पनि गठन गर्न सुझाव दिए ।
कार्यक्रममा थप पत्रकार महासङ्घ सुदूरपश्चिमका महासचिव शिवराज भट्ट, पत्रकार महासङ्घ कैलालीका अध्यक्ष श्रवण देउवा, पत्रकार महासङ्घ बझाङका अध्यक्ष ललित सिंह, नेपाल प्रेस युनियनका प्रदेश उपाध्यक्ष टेकेन्द्र देउवा लगायतको उपस्थिति थियो।
त्यसैगरी, बरिष्ठ चलचित्रकर्मी उदय बोहरा, उमेश मायालु कलाकार संगत चौधरी, रामचरण , राज चौधरी आदर्श महतो ,धुर्व सिंह ,सरस्वती खड्का, बोक्टानी किङ, सुरेन्द्र संगम पुष्पा बडैला अनु खड्का लगायत थुप्रै चर्चित कलाकारहरू सहभागी थिए।
कार्यक्रमको सञ्चालन चलचित्र पत्रकार संघका सचिव कृत बहादुर विष्टले गरेका थिए भने स्वागत मन्तव्य संघका उपाध्यक्ष विवेक सिङ नागरीले राखेका थिए।
कार्यक्रमको प्रवर्द्धक प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाइ धनगढी रहेको थियो भने सहकार्य सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानसँग रहेको थियो ।



