निर्देशक तथा लेखक दीपक रौनियार निर्देशित चलचित्र ‘राजागंज’को ट्रेलर सार्वजनिक गरिएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रमका बीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।
३ मिनेट लामो सार्वजनिक ट्रेलरले २०७२ सालमा संविधान जारी भएपछि विरोधमा भएको मधेश आन्दोलनलाई केन्द्रमा राखेर कथा भनिएको छ ।
मधेशमा आन्दोलन चर्किरहँदा अपहरणमा परेका सभासद र स्कूलकी प्रधानध्यापकका छोरालाई मुक्त गराउन प्रहरीले चालेको खोजी अप्रेसनलाई ट्रेलरमा देखाइएको छ ।
आन्दोलनका बीच प्रहरीले दुई बालकलाई खोज्न अपनाएको रणनीति र आइपर्ने समस्यालाई ट्रेलरले देखाउँछ । प्रहरी इन्सपेक्टरको भूमिकामा रहेकी अभिनेत्री आशा मगराती र अभिनेता दयाहाङ राईबीचको टसन पनि ट्रेलरमा हेर्न पाइन्छ ।
आगामी चैत १ गतेबाट प्रदर्शन आउने चलचित्रमा आशार दयाहाङसहित विजय बराल, ऋचा शर्मा, पशुपति राई, पूर्वमिस नेपाल निकिता चाण्डक, गौमाया गुरुङ, पुष्पा यादव, आरती मण्डल, घनश्याम मिश्र, परमेश्वर कुमार झा, नीरज श्रेष्ठ लगायतको अभिनय छ ।
चलचित्रले भेनिस, ह्याम्बर्ग, बुसान र मुम्बई जस्ता विश्वका ठुला चलचित्र महोत्सवमा आफ्नो प्रभाव जमाई सकेको छ । यो चलचित्र गत कात्तिक एकै महिनामा ५ फेस्टिभलमा स्क्रिनिङ भएको थियो । चलचित्रले भेनिसमा १० मिनेटको स्ट्यान्डिङ ओभेसन प्राप्त गरेको थियो ।
प्रतिष्ठित अमेरिकी अखबार ‘द न्युयोर्क टाइम्स’ले निर्देशक रौनियारलाई संसारका नौ उदीयमान निर्देशकको सूचीमा समावेश गरेको थियो । ब्राजिलियन लेखक पाओलो कोहेलोले सार्वजनिक रुपमै रौनियारको प्रशंसा गरेका थिए ।
चलचित्रको निर्माणमा आदि फिल्मस्का तर्फबाट निर्देशक रौनियार र अभिनेत्री मगराती, बासुरी फिल्मस्का तर्फबाट रामबाबु गुरुङ र मनिराम पोखरेल, अभिनेता दयाहाङ राई तथा तन्हाउसर गेटका तर्फबाट एलन आर मिलिगनले सहकार्य गरेका छन् ।





