Close sidebar

‘फेरि रेशम फिलिली’को भव्य प्रिमियर, हेर्नेले खुलेर भने – फुल इन्टरटेनमेन्ट, पैसा असुल्छ

फाल्गुन १४, २०८१

हिजो मंगलबार ललितपुरको लाबिम मलमा ‘फेरि रेशम फिलिली’को भव्य प्रिमियर सम्पन्न भएको छ। सिनेमा आर्टस् जस्तो प्रतिष्ठित फिल्म निर्माण कम्पनी निर्मित चलचित्र भएकाले पनि काठमाडौंमा उपलब्ध अधिकांश सेलिब्रेटीहरू प्रिमियरमा उपस्थित थिए।

प्रिमियरअघि उनीहरूबीच चलेको खासखुसमा १० वर्षअघिको चलचित्रको सिक्वेल कस्तो बनेको होला भन्ने कुरामा विशेष चासो रहेको पाइन्थ्यो। चलचित्र हेरेपछि भने उनीहरू खुशी देखिन्थे। कारण, चलचित्रमा उनीहरूलाई मनपर्‍यो, अधिकांशले क्यामरा अगाडि अप्ठ्यारो नमानी चलचित्रको कमेडी शैली र त्यसले दिएको सन्देशको तारिफ गरे, जुन धेरैजसो नेपाली चलचित्रको प्रिमियरमा बिरलै हुने गर्छ। कतिपय प्रिमियरमा हेर्न पुगेका सिनेकर्मीहरू क्यामरा छल्दै हिँडेको देखिन्छ, तर हिजो भने फरक दृश्य देखियो, उनीहरू क्यामरा छलेर भागेनन्।

उनीहरूले क्यामरा अगाडि खुलेरै चलचित्रले पेट मिचिमिचि हसाएको भन्दै चलचित्रको तारिफ गरे।

प्रिमियरमा पुगेका ‘उनको स्वीटर’बाट डेब्यू गर्न लागेका नविन चौहानले आफूलाई चलचित्र ‘फिलिली’ अर्थात् राम्रो लागेको प्रतिक्रिया दिए भने वरिष्ठ कलाकार, निर्माता तथा निर्देशक अशोक शर्माले ‘बबाल रमाइलो’ भन्दै थम्सअप गरे।

यसैगरी ‘ए मेरो हजुर’ सिरिजका निर्माता सुनिल कुमार थापाले आफूले सोचेभन्दा धेरै राम्रो बनेको बताए भने चलचित्रका ‘हरिया’ कामेश्वर चौरसियाको कामको तारिफ गरे। ‘पिताम्बर’ प्रदर्शनको तयारीमा रहेकी निर्मात्री-निर्देशक कृषा चौलागाईंले ‘आउटस्ट्यान्डिङ’ अर्थात् ‘उत्कृष्ट’ भएको प्रतिक्रिया दिँदै ‘यो चलचित्र हेरेन भने रमाइलो गर्नै बिर्सनुहुन्छ’ भनिन्।

अभिनेत्री ऋचा शर्माले कमेडी च्याम्पियनपछि ‘फेरि रेशम फिलिली’ हेरेर ‘एकदमै रमाइलो’ लिएको बताउँदा अर्की अभिनेत्री शिल्पा मास्केले चलचित्र ‘एकदमै मनोरञ्जक’ बनेको बताइन्। ‘कबड्डी’ सिरिजमा ‘झाँक्री बा’ पात्रबाट लोकप्रिय बनेका चलचित्र लेखक, निर्देशक तथा साहित्यकार उपेन्द्र सुब्बाले आफ्ना दुबै हातले थम्सअप गर्दै ‘बबाल, बाबाल, बाबाल फिलिली’ भन्ने प्रतिक्रिया दिए।

यस्तै चर्चित कमेडियन सुमन कार्कीले ‘बबाल मजा आयो, मस्त’ भन्दै चलचित्रमा‘हाजमोला’ चरित्र निर्वाह गरेका आफ्ना समकालीन साथी म्याकसम गौडेलको तारिफ गर्दै ‘म्याकसम गौडेल जिन्दावाद’ भने। उनले आफ्ना साथीलाई ठूलो पर्दामा पहिलो पटक देख्न पाउँदा खुशी लागेको बताए।

यसैगरी निर्माताहरू सरोज न्यौपाने र रोहित अधिकारीले चलचित्र बाबाल लागेको बताए भने हाल ‘जेरी अन टप’ निर्देशन गरिरहेका सुयोग गुरुङले पनि आफूलाई चलचित्र ‘दामी’ लागेको बताए।

यस्तै अभिनेत्री सिमरन खड्काले चलचित्र एकदमै राम्रो लागेको बताउँदै ‘कामेश्वर चौरसिया सर केकमा चेरी हुनुहुन्छ, सबै जना आएर हेरिदिनुहोला’ भनिन्।

यसैगरी कलाकार र सिनेकर्मीको साथमा प्रिमियरमा चलचित्र हेरेका रंग पत्रकारहरूले रमाइलो, व्यवसायिक बनेको भन्दै डेब्यू निर्देशक निरोज महर्जनको कामको तारिफ गरे। उनीहरूले नेपाली चलचित्रले राम्रो निर्देशक पाएको बताएका थिए।

उता स्ट्यान्डअप कमेडियन भरतमणि पौडेलले पनि म्याकसम गौडेलको उच्च प्रशंसा गर्दै आफूले सो भूमिका गर्न नसक्ने बताए। उनले गौडेलले ‘कस्तो दामी काम गरेको रैछ’ भने।

यसैगरी अर्का कमेडियन सुमन कोइरालाले चलचित्रलाई ‘पैसा वसुल’ भन्दै ‘मलाई नेपालमा बनेको कमेडी फिल्म यत्तिको टेक्निकल, कथाहरू यत्तिको अर्गानिक र यस्तो राम्रो तरिकाले देखाएको थाहा छैन। अहिलेचाहिँ साँच्चिकै राम्रो फिल्म हेरेको महसुस भयो।’ उनले सबै कलाकारले आफ्नो पात्रमा ‘नेक्स्ट लेभल’ काम गरेको बताए।

त्यस्तै कमेडियन कैलाश कार्कीले चलचित्रलाई १० मा ९ रेटिङ दिए। उनले सो रेटिङ साथीको फिल्म भएर नदिएको स्पष्ट पार्दै भने – ‘म्याकसमलाई हटाएर दिए पनि ९ नै हो। समग्रमा चलचित्र राम्रो छ। यो मैले सिनेमा मन परेर नै भनेको हो। फिल्म पैसा तिरेर हेर्दा मस्त पैसा असुल्ने छ।’

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया