फागुनको २ गते प्रेम दिवसको अवसर पारेर प्रदर्शन हुने एडल्ट चलचित्र ‘दुखी आत्मा’लाई चलचित्र जाँचपास समितीले ‘पिजी’ सर्टिफिकेट दिएको छ ।
यो चलचित्रको टिजर र ट्रेलर सार्वजनिक भएपछि सेन्सरले के गर्छ, दृश्य काँटछाँट गर्छ कि गर्दैन भन्ने धेरैलाई कौतुहलता थियो । तर, आज मात्र चलचित्रको सेन्सर पास भएको छ ।
चलचित्रका निर्देशक दीपेन्द्र लामाका अनुसार, यो फिल्मको कुनै पनि दृश्यमा सेन्सर काँटछाँट गरेन । तर, सेन्सरका सदस्यहरुबाट चलचित्रको कथावस्तु र प्रस्तुतिको मुक्तकण्ठले प्रशंसा गरिएको निर्माणपक्षले बताएको छ ।
अब, यो चलचित्र हेर्नका लागि १६ बर्ष तलका बालबालिकाले बाबु–आमाको साथ लिनुपर्नेछ । निर्देशक लामाले भने–‘हाम्रो चलचित्रको कथावस्तु नयाँ छ । बजारमा विभिन्न अड्कलबाजी गरिएतापनि यो फ्यामिली चलचित्र हो । यसैले, हरेक वर्गका दर्शकले ढुक्कसँग फिल्म हेर्न सक्नुहुनेछ ।’
दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रमा दयाहाङ राई, आँचल शर्मा, अनुप विक्रम शाही, वुद्दि तामाङ लगायतको अभिनय छ । हिमाल कडरिया निर्माता रहेको चलचित्रका कार्यकारी निर्माता सुदिप ढकाल हुन् । चलचित्रमा आलोक शुक्लाको छायांकन छ ।



