Close sidebar

ट्रेलरमा जुन लुगा देख्नुभएको छ, त्यही लुगा लगाएर सुत्थें’, कृष्ण

माघ १८, २०८१

नाटक अभिनयमा डेढ दशक बढी समय बिताइसकेका कलाकार कृष्णप्रसाद धिताल यही माघ २५ गतेबाट रिलिज हुने चलचित्र ‘जुनाः एक व्यथा’मार्फत फिल्म क्षेत्रमा डेब्यू गर्दैछन् । चलचित्रकी प्रमुख कलाकार अस्मिता ढकालको श्रीमान बिर्खलालको भूमिकामा अभिनय गरेका कृष्ण चलचित्रबाट आशावादी छन् ।

रत्नपार्कमा परिवार नियोजन सम्बन्धी सडक नाटकमा अभिनय गरिरहँदा कृष्णलाई चलचित्र ‘जुनाः एक व्यथा’मा अभिनयको अवसर मिलेको थियो । ‘रत्नपार्कमा नाटक देखाइरहँदा निर्देशक जीवन सेन्चुरीले त्यो नाटक हेरिरहनु भएको रहेछ । उहाँले मेरो काम मनपराउनु भएछ । चलचित्रका लागि चाहिने पात्र अनुसार म फिट देखिएछु । त्यहीकारण उहाँले चलचित्रमा कामको लागि प्रस्ताव गर्नुभयो’, कृष्ण भन्छन् ।

कृष्णले नाटक अभिनयको अधिकांश समय गाउँ र बस्तीमै बिताए । उनी आफ्नो नाटक समूह आवाज आर्ट क्रिएसन्मार्फत नेपालका गाउँ र बस्तीमा सडक नाटक लिएर पुग्थे । ‘हामीले मञ्चन गरेका अधिकांश नाटक बाल विवाह, अनमेल विवाह, महिला हिंसासँग सम्बन्धित नै थिए । चलचित्रको विषयवस्तु र नाटकको विषयवस्तु मिल्यो । चलचित्रमा सुरुवाती दिनमा काम गर्न केही असहज भए पनि विस्तारै सहज बन्यो’, कृष्ण खुल्छन् ।

कृष्णले नाटक र केही टेलिभिजन सिरियलमा अभिनय गरेका थिए । तर चलचित्रमा पहिलोपटक अभिनय गरेकाले उनलाई केही चुनौती अनुभव भयो । ‘सिरियलमा क्यामरा फेस सामान्य तरिकाले गरिएको थियो । तर चलचित्रमा त फरक हुन्छ । चलचित्रको प्राविधिक पक्षबारे मलाई धेरै थाहा थिएन । नाटकमा स्वतन्त्रता थियो र चलचित्रमा त सीमित घेराभित्र काम गर्नुपर्दो रहेछ । मेरो बुझाईमा चलचित्र निर्देशक हो भने नाटक कलाकार हो’, उनी भन्छन् ।कृष्णले चलचित्रकै लागि कोही पनि पात्र भेटेनन् । तर त्यो पात्रलाई दिमागमा ‘भिजुलाइज’ भने गरे । ‘म अधिकांश नाटकमा त्यही पात्रमा अभिनय गर्थें । त्यसकारण पनि ममा अभ्यास राम्रै थियो । सुटिङ अघिको वर्कसपले पनि थप मजबुत बनायो’, उनी भन्छन् ।

चलचित्रको सुटिङ हुँदा कृष्ण ८५ किलोका रहेछन् । अनुहारमा दाह्री पनि थियो । चलचित्रको छायांकन पुरा भएपछि उनी ५२ किलोका भए । अहिले ६४ किलोका छन् । ‘त्यो बेलाको लुक्स र अहिलेको लुक्स फरक छ । त्यसकारण पनि धेरै मान्छेले त्यो पात्र मै हुँ भन्दा पत्याउँदैनन्’, कृष्ण हाँस्छन् । चलचित्रको कथाले नै आफूलाई ‘जुनाः एक व्यथा’ तानेको उनी खुलाउँछन् । ‘हामी वर्षौदेखि यही सामाजिक विषयमा नाटक गरिरहेका थियौं । बाल विवाह, लैंगिक हिंसा, लागु औषधका कुरा नाटकमा हुन्थे । धेरै नाटक बाल विवाहसँग सम्बन्धित नै थिए । हामीले समाज सुधारका लागि नाटकलाई माध्यम बनाइरहेका थियौं । त्यसमाथि चलचित्रमा नै अभिनय गर्नुपर्ने प्रस्ताव र कथा पनि मिल्ने भएकाले चलचित्रले अझ बोल्ड किसिमले समाजमा सन्देश प्रवाह गर्न सक्छ भन्ने लाग्यो’, उनी भन्छन् ।

कृष्णको बुझाईमा नाटकको अभिनयले उनलाई चलचित्रमा आफ्नो चरित्र निभाउन निकै सजिलो भएको रहेछ । ‘नाटक गर्न जाँदा त्यस्ता पात्र समाजमा देखेका थियौं । नाटक हेर्न आउनेले त्यस्ता घटना सुनाउथे, कति पीडित पनि भेट्न आउँथे । नाटक देखाईसकेपछि दर्शकहरु आफ्नो कथा सुनाउन आउँथे । जसले गर्दा मलाई चरित्र स्थापित गर्न सजिलो भयो’, कृष्ण भन्छन् ।
कृष्णका अनुसार चलचित्रको छायांकनस्थलमा उनी हरेक समय क्यारेक्टरमै हुन्थे । ‘टिजर र ट्रेलरमा मेरो जुन लुगा देख्नुभएको छ, त्यही लुगा लगाएर राती सुत्थें । आफूलाई चरित्रमै राखिरहनु पर्ने भएकाले धेरै असहज भएन । तर धेरै अगाडि चलचित्र बनेकाले आज मेरो जुन परिपक्कता छ, त्यो बेला त्यति धेरै थिएन’, कृष्ण विगत फर्कन्छन् ।

कृष्ण स्टेण्डअप कमेडीबाट उदाएका कलाकार हुन् । कमेडियन मनोज गजुरेललाई आफ्नो गुरु मान्ने कृष्णले गाईजात्रा प्रहसनमा मनोज गजुरेल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चरित्र उतारिरहँदा उनी भने सुशील कोइराला गेटअपमा थिए । सिन्धुपाल्चोकको रेडियो मेलम्चीको सञ्चालकसमेत रहेका कृष्णले आरोहण गुरुकुलमा करिब डेढ वर्षसम्म सुनील पोखरेलसँग अभिनय सिकेका छन् ।

दीपकप्रसाद घिमिरेको निर्माण र जीवन सेन्चुरीको निर्देशन रहेको चलचित्र ‘जुनाः एक व्यथा’मा अस्मिता ढकाल, कृष्णप्रसाद धिताल, देशभक्त खनाल, रश्मी भट्ट, कमल बोहोरा, अस्मिता बस्नेत र खगेन्द्र न्यौपानेको अभिनय छ ।

तस्वीर:- सुरेन्द्र थापा

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया