सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण भएको चलचित्र ‘रंगी’ को ट्रेलर सार्वजनिक भएको छ । अभिनेता सलोन बस्नेत प्रस्तुतकर्ता रहेको चलचित्रको शुक्रबार राजधानीमा एक कार्यक्रम गर्दै सार्वजनिक गरिएको हो ।
सार्वजनिक यो चलचित्रको ट्रेलरमा बाबु र छोरीको प्रेम, कमेडी र पीडालाई देखाइएको छ । सलोनको विवाह अनि छोरीको जन्मबाट सुरुवात ट्रेलरमा छोरी आयुषी ढकालका लागि बाबु सलोन बस्नेतको प्रेम, संघर्ष देखाइएको छ । ट्रेलरमा ‘डेब्यू’ नायिका नम्रता श्रेष्ठ र आयुषीको मित्रता, सलोन, नम्रता र आयुषीको नोकझोकलाई पनि देखाइएको छ । ट्रेलरका केही दृश्य भावुक लाग्छन् । खासगरी ट्रेलरको अन्त्यमा आयुषीले स्टेजबाट आफ्नो बाबुप्रति दर्शाएको प्रेम र संवादले सबैको मन छुन्छ । ट्रेलरमा आयुषीलाई सिटी स्क्यान मेसिनमा राखेको दृश्यले उनलाई केही गम्भीर रोग लागेको हुनसक्ने अनुमान गर्न सकिन्छ ।
आगामी फागुन २ गते रिलिज हुने चलचित्रका प्रस्तुतकर्ता सलोनले ‘रंगी’लाई संघर्ष र मायाको कथाको रुपमा बुझ्न आग्रह गरे । निर्देशक सुरेश न्यौपानेले ‘रंगी’ चलचित्रमात्र नभई एउटा भावनासमेत रहेको दाबी गरे । अभिनेत्री नम्रताले चलचित्रमा आफूले धेरै दबाब झेलेर काम गर्नु नपरेको जनाइन् । बाल कलाकार आयुषीले ट्रेलरलाई दर्शकले मनपराउनेमा आफू ढुक्क रहेको बताइन् ।
सुरेश न्यौपानेको ‘डेब्यू’ निर्देशन रहेको चलचित्रमा सलोन बस्नेत, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ, र विशाल पहारीको अभिनय छ । प्रस्तुतकर्ता सलोनका अनुसार फिल्मले बाबुछोरीको कथा देखाउनेछ । चलचित्र ‘रंगी’ सलोनको डेब्यू निर्माण हो ।
सक्षम सुवेदी, करिश्मा केसी बस्नेत र अनिश गौतमको निर्माण रहेको चलचित्रमा सुमन गजमेरको लेखन, सौरभ लामाको छायांकन, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको संगीत, आनन्द कार्की, आमेश भण्डारी, भीम बिसी, समीक्षा अधिकारी र सुजता केसीको स्वर, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको शब्द, बन्दे प्रसादको सम्पादन, राजेन्द्र मोक्तानको कलर, कविराज गहतराज र शिशिर खातीको कोरियोग्राफी तथा केवलमान सिंह बस्नेतको प्रोडक्सन छ । चलचित्रलाई एप्पल इन्टरटेनमेन्ट, एफडी र रिच इन्टरटेनमेन्टले वितरण गर्दैछ ।