चलचित्र ‘कार्साङ’को अग्रिम बुकिङ खुला भएको छ । देशभरका हलहरूले सुखद् शो दिँदै बुकिङ खुलाएसँगै देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्समा यो चलचित्रलाई काठमाडौं उपत्यकाका आउटलेटमा २५ शो दिएको हो ।
काठमाडौं बाहिरका स्टेशनमा पनि ‘कार्साङ’लाई क्यूएफएक्सले समान २८ शो उपलब्ध गराएको छ । ‘कार्साङ’ले पाएको शो राम्रो हो । वर्ड अफ माउथ बलियो बन्दै जाँदा शो थपिँदै जाने हो । दोस्रो ठूलो मल्टिप्लेक्स चेन आईएनआई सिनेमाजले आफ्ना तीनवटा आउटलेटमा १५ शो दिएको छ ।
यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्रलाई एफ क्युब सिनेमाजले र विएसआर मुभिजले सम्मान ६-६ शो उपलब्ध गराएका छन्। बिग मुभिजले, वान सिनेमाजमा भने बुकिङ खुला हुन बाँकी छ ।
२ घन्टा ५ मिनेटको ‘कार्साङ’ ले अभाव, गरिबी र शेर्पा समुदायको सांस्कृतिक कथावस्तुलाई प्रस्तुत गर्नेछ । यो चलचित्रमा दयाहाङ राई, सिर्जना निङलेखुसँगै जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन र सुरवीर पण्डितलगायत कलाकारको अभिनय रहेको छ ।
यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा बनेको यो चलचित्रका निर्माता तथा छायांकार पुरुषोत्तम प्रधान हुन् । सह–निर्मातामा गोविन्द बोहरा छन् । आङछिरिङ शेर्पा प्रस्तुतकर्ता हुन् ।