पुस २६ गते रिलिज हुने चलचित्र ‘कार्साङ’को ट्रेलर दर्शकले रुचाएका छन् । सार्वजनिक भएको २४ घण्टा नपुग्दै ट्रेलर ट्रेन्डिङको दुई नम्बरमा आइपुगेको छ । मुभी सेक्सनको दुई नम्बरमा रहेको ट्रेलरले दर्शकबाट तारिफ बटुलेको हो ।
दया र जितुको अभिनयको तारिफ गर्दै दर्शकले अब शेर्पा समुदायको कथा दर्शकले नजिकबाट नियाल्न पाउने बताइरहेका छन् । ट्रेलरले पाएको यो माया चलचित्रले पनि पाउने अपेक्षा चलचित्र निर्माणपक्षको छ ।
ट्रेलरमा पात्रको अभाव, झाँक्री विद्यामा समाजले गर्ने विश्वास, सामाजिक परम्परा, आर्थिक कारोबार, प्रशासन, समाजले गर्ने बहिष्कार, रिस, द्वेष र समाजको निर्णयले परिवारमा देखिने विचलन र फाटो देखाउँदै ट्रेलरले चलचित्रको मुख्य पात्रले स्वाभिमानका लागि गर्ने संघर्ष र सम्झौता देखाएको छ ।
यम शेर्पाको डेब्यु निर्देशन रहेको ‘कार्साङ’ ग्रामीण परिवेशमा आधारित पारिवारिक कथावस्तुमा केन्द्रित छ । चलचित्रमा दयाहाङ राई, सिर्जना निङलेखुसँगै जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन र सुरवीर पण्डितलगायत कलाकारको अभिनय रहेको छ ।
यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा बनेको यो चलचित्रका निर्माता तथा छायांकार पुरुषोत्तम प्रधान हुन् । सह–निर्मातामा गोविन्द बोहरा छन् । कार्यकारी निर्माताको रूपमा आङछिरिङ शेर्पाले काम गरेका छन् ।
Tags: nepali movie