नायक धीरज मगर र मिरुना मगरको प्रमुख भूमिकामा चलचित्र ‘कुस्ती’ बन्ने भएको छ । यो चलचित्रलाई चर्चित अभिनेता बुद्धि तामाङले निर्माण गर्ने भएका छन् ।
अभिनेता तामाङले सोमबार तमु ल्होसारको अवसर पारेर यो चलचित्र निर्माणको घोषणा गरेका हुन् । चलचित्रको निर्माण घोषणा सँगै टिजर पोस्टर समेत सार्वजनिक गरिएको छ ।
पोस्टरमा धीरजले हल्का गुलाबी पहिरन लगाएका छन् भने मिरुनाले हल्का हरियो रङको पहिरन लगाएका छन् । निर्माताले प्रेषित गरेको विवरणमा रङअनुुसार पात्रको मुड र स्वभाव प्रस्तुत गरिएको छ । जसअनुसार, धीरजको पात्रको स्वभाव भद्र र हेरचाह गर्ने किसिमको छ । ऊ रोमान्टिक र नम्र छ । मिरुनाको पात्र सम्बन्ध जोड्ने, हरेक कुरामा पर्फेक्ट खोज्ने स्वभावको छ ।
अनिल योञ्जनले लेखन तथा निर्देशन गर्ने यो चलचित्र अनुषा सिनेमावुड पिक्चर्स प्रालीको ब्यानरमा बन्ने छ । चलचित्रमा एक युवायुवतीको प्रेम सम्बन्धलाई दर्शाइने निर्माणपक्षले बताएको छ ।
यो चलचित्रको छायांकन फागुनदेखि काठमाडौंमा हुने छ भने २०८२ सालको भदौमा प्रदर्शन लक्ष्य राखिएको छ । चलचित्रलाई काठमाडौँमा रीच इन्टरटेनमेन्ट र एप्पल इन्टरटेनमेन्ट, मोफसलमा एफडी कम्पनी वितरणको जिम्मा लिएका छन् ।
Tags: nepali movie