नेपालगन्ज,कार्तिक ३० गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘ह्रस्व दीर्घ’ को एडभान्स बुकिङ्ग खुलेको छ। मल्टिप्लेक्स चेन क्युएफ़एक्स र अन्य मल्टिप्लेक्सले चलचित्रको शो खुल्ला गरेका छन्।
भारतीय चलचित्र ‘कंगुवा’ रिलिज नहुने भएपछि चलचित्रलाई केहि फाइदा भने पक्कै हुनेछ। उपत्यका बाहिर २६ र काठमान्डौ उपत्यकामा १९ शो क्युएफएक्स चेनले दिएको छ । अन्य मल्टिप्लेक्सले पनि चलचित्रको शो बिस्तारै खोल्दै गएका छन्। देशभर १०० भन्दा बढी शो सहित चलचित्र रिलिज हुने अनुमान गरिएको छ। यता नेपालगन्जको कुरा गर्ने हो भने चलचित्रले दुबै हलमा गरि ७ शो पाएको छ। जस्मा क्युएफएक्सले ३ शो र सिनेरोयलले ४ शो गरि जम्मा ७ शो प्रदान गरेको छ । हल संचालकका अनुसार चलचित्र हेर्ने दर्शकको चाप बढेको र माग भएको खण्डमा शो थपिने छ।
नीता फिल्मस्को प्रस्तुतिमा निर्माण भएको चलचित्रमा हरिहर अधिकारी, नीता ढुंगाना, ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकार, सञ्चीता लुईटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसी लगायतका कलाकारको अभिनय रहेको छ । चन्द्र पन्तको निर्देशन र निता ढुंगानाको लगानीमा निर्माण भएको चलचित्र नेपाली, तेलुगु र हिंन्दी गरी तीन भाषामा रिलिज हुनेछ ।