निर्देशक दिवाकर भट्टराईले निर्देशन गर्ने चलचित्र ‘नरसिंहाः अवतार’ मा कलाकारहरुको रोचक लाइनअप पूराहुने क्रम अझै जारी छ । यो चलचित्रको लागि ‘लप्पन छप्पन’का निर्माता तथा व्यवसायी प्रकाश कुँवर अनुबन्धित भएसङै कलाकारहरुको लाइनअप रोचक भइरहेको छ । निर्माणपक्ष र कुँवरबिच केहिदिन अघि मात्रै लिखित सम्झौता भएको हो ।
यो चलचित्रमा व्यवसायी प्रकाश कुँवरको प्रमुख भूमिका मध्य एक भूमिकामा अनुबन्धित गराइएको निर्देशक भट्टराईले जनाकारी दिए । प्रकाश यो चलचित्रमा जोडीन पाउदा निकै खुशी भएका छन् ।
एक्सन तथा सोसल ड्रामामा निर्माण हुने यो चलचित्रमा यसअघि महानायक राजेश हमाल, नीति शाह, सरोज खनाल, सनिशा भट्टराई, दीपा शाही, प्रशान्त ताम्राकार, नीर शाह र राज कटुवाल अनुबन्धित भइसकेका छन् ।
यो चलचित्रबाट ८ वर्षपछि महानायक हमालले कम्ब्याक गर्दैछन् । आठ वर्ष भन्दा धेरै समय पछि हमाल चलचित्रमा फर्किने खबरले यतिबेला नेपाली चलचित्र नगरि तताएको छ ।
यता, क्याप्टेनपछि निर्देशक भट्टराईको चलचित्रमा अभिनेता सरोजले अभिनय गर्न लागेका छन् भने हमाल र खनाल ३० वर्षपछि सँगै एउटै चलचित्रमा देखिन लागेका हुन् । उनीहरुले सन् १९९४ सेप्टेम्बर २७ मा रिलिज भएको चलचित्र ‘सडक’मा सँगै काम गरेका थिए । तीर्थ थापाले निर्देशन गरेको उक्त चलचित्रपछि यी दुईले सँगै काम गरेका छैनन् ।
क्रिएटिभ सिने आर्टको प्रस्तुति रहने यो चलचित्र यही भदौको अन्तिम साताबाट छायांकनमा जाने निर्माणपक्षको तयारी छ । यतिबेला निर्देशक भट्टराईको अर्को चलचित्र ‘मायावी’ प्रदर्शनको तयारीमा छ ।